काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले मन्त्रिपरिषद् विस्तार गरेकोमा व्यंग्य गरेका छन्।
संसदको अन्तिम बैठकमा सम्बोधन गर्दै ओलीले प्रधानमन्त्रीलाई कानुन विपरित मन्त्रिपरिषद् विस्तार गरेको भन्दा चित्त नदुखाउन आग्रह गरे। बैठकमा उनले भने, 'प्रधामन्त्रीलाई थप मन्त्री किन चाहियो, निर्वाचन गराउन त मन्त्री आवश्यक छैन। कुस्ती खेल्न चाहिएको त होइन होला?'
ओलीले मन्त्रिपरिषद विस्तार सम्बन्धमा प्रधानमन्त्रीले राष्ट्रसंघको महासभामा जाँदा हास्यास्पद टिप्पणी गरेको भन्दै कांग्रेसका नेताहरुलाई सभापतिलाई हिसाब सिकाउन आग्रह गरे। सरकारले निर्वाचन आचारसंहिता विपरीत मन्त्रीको संख्या बढाएको भन्दै उनले आपत्ति समेत जनाए।
संवैधानिक आयोगकोको आदेश मान्नु सरकारको दायित्व भए पनि सरकारले अटेरी गरेको उनको भनाइ थियो। 'दुई जना मन्त्री फिर्ता पठाएको सरकारले आठ जना थपेर देखाइदियो, के हो यो?,' उनले प्रश्न गरे।
अर्को प्रसंगमा एमाले अध्यक्ष ओलीले संसद आफ्नो काममा पूर्ण सफल रहेको बताएका छन्। रुपान्तरित व्यवस्थापिका संसदको काम संविधान कार्यान्वयनका लागि कानुन निर्माण रहेकाले त्यसमा संसदले कूशलतापूर्वक काम सम्पन्न गरेको बताएका हुन्।
उनले भने, 'संविधान अनुसार हुनुपर्ने निर्वाचनका लागि आवश्यक कानुन समयमै दिएर संसदले मुलुकलाई संविधान कार्यान्वयनको बाटो अग्रसर गराएको छ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।