काठमाडौँ– शनिबार मधेश प्रदेशका केही जिल्लाहरुमा भारी वर्षा भएको छ।
पछिल्लो २४ घण्टामा मधेशका केही जिल्लाहरुमा भारी वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
बर्खाको समयमा लामो समयसम्म वर्षा नभएपछि मधेश प्रदेशलाई सरकारले सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको थियो।
शनिबार बिहान गरिएको मापन अनुसार धनुषा जिल्लाको तुल्सी केन्द्रमा ६३.८ मिलिमिटर वर्षा भएको छ। धनुषाकै हर्दिनाथमा ५१ मिलिमिटर वर्षा मापन भएको महाशाले जनाएको छ।
यस्तै रौतहटको गौरमा ४४.६ र बाराको अमलेखगन्जमा ४६.४ मिलिमिटर वर्षा भएको छ।
२४ घण्टामा ५० देखि १०० मिलिमिटर वर्षा हुनुलाई मौसम विज्ञानमा भारी वर्षा भएको मानिन्छ भने १० देखि ५० मिलिमिटरसम्मलाई मध्यम वर्षा भएको मानिन्छ।
यसैगरी, महाशाखाले मधेश प्रदेशका अन्य जिल्लामा पनि हल्कादेखि मध्यम वर्षा भएको जनाएको छ।
सर्लाहीमा ३७.६, महोत्तरीको गौशाला स्टेशनमा ३२.४ मिलिमिटर वर्षा भएको छ भने सिरहा र सप्तरीमा भने वर्षा कम भएको छ।
आइतबार पनि मधेशमा मध्यमदेखि भारी वर्षा हुने प्रक्षेपण गरिएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानबाट उत्तरतिर (नेपालतिर) सर्ने क्रममा रहेकाले थप वर्षा हुने सम्भावना रहेको मौसमविद्को पूर्वानुमान छ।
यसैगरी, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू–भागका धेरै स्थानहरूमा तथा तराई भू–भागका केही स्थानहरूमा मेघगर्जनरचट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा शनिबार भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
आज राति देशभर साधारणतया बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका केही स्थानहरूमा मेघगर्जनरचट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।