काठमाडौँ –प्रहरीले पूर्वराजा ज्ञानेन्द्र शाहको समर्थनमा काठमाडौँको तीनकुनेमा गरिएको प्रदर्शनका फरार कमाण्डर दुर्गा प्रसाईँको खोजी तीव्र पारेको छ।
शुक्रबार ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ र ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ ले आयोजना गरेको प्रदर्शन हिंसात्मक बनेसँगै उनी कार्यक्रम स्थलबाट भागेका थिए।
प्रहरीले तिनकुनेको मञ्चमा अश्रुग्याँस प्रहार गरेपछि गैरीगाउँको पेट्रोल पम्प नजिकैको घरको सटरमा पसेका प्रसाईँ स्कोर्पियो चढेर त्यहाँबाट हिँडेको प्रहरी अधिकृतहरु बताउँछन्।
उनको खोजीमा प्रहरीका ३ युनिट खटिएका छन्। उपत्यका अपराध अनुसन्धान कार्यालय, जिल्ला पहरी परिसर काठमाडौँ र प्रहरी प्रधान कार्यालयको टोलीले उनको खोजी तीव्र बनाएका छन्। अनुसन्धानमा संलग्न एकजना अधिकृतका अनुसार प्रसाईँ चक्रपथ हुँदै ललितपुर तर्फ लागेको थाहा भएको छ। अधिकृत भन्छन्, ‘ललितपुरमा लुकेको आशंका छ, हामी खोजिरहेका छौँ।’
प्रदर्शनमा सहभागी अर्को आयोजक समूह ‘राजसंस्था पुनर्स्थापनाका लागी संयुक्त जनआन्दोलन समिति’का संयोजक नवराज सुवेदीलाई प्रहरीले घरमै नजरबन्द गरेको छ।
प्रसाईँलाई नियन्त्रणमा लिएर फौजदारी मुद्दामा कारबाही गर्ने सरकारको तयारी छ।
प्रदर्शनमा नेतृत्वदायी भूमिकामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ नेता रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणा, स्वागत नेपाल, सेफर्ड लिम्बु र सन्तोष तामाङलाई प्रहरीले गए राति पक्राउ गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।