काठमाडौं– नेपाल भ्रमणमा रहेका बेला बेलायती राजकुमार हेनरी चार्ल्स अल्बर्ट डेविड (ह्यारी) माथि कट्टरपन्थी आतंकवादी संगठनबाट आत्मघाती हमलाको खतरा रहेको खुलेको छ।
राजकुमार ह्यारीलाई आफ्नो मुख्य निसानामा राखेको तालिवान तथा अलकायदाले हत्या गर्ने उद्देश्यले आफ्ना लडाकु वा समर्थकमार्फत आत्मघाती बम आक्रमण, कारबम आक्रमण, पेशेवर स्नाइपरको प्रयोग वा आइइडीसम्मको प्रयोग गर्ने सम्भावना रहेको एक सुरक्षा प्रतिवेदनमा उल्लेख छ।
नेपाली मनमा अमिट छाप छोडेर गएका ह्यारीको भ्रमणको डेढ वर्षपछि नेपाल लाइभ लाई प्राप्त गोप्य सुरक्षा प्रतिवेदन अनुसार ह्यारीलाई विश्वभर सक्रिय रहेका लगभग सबै आतंकवादी संगठनबाट खतरा रहेको उल्लेख छ। यद्यपि राजकुमार ह्यारी सुरक्षित रुपमा आफ्नो भ्रमण पूरा गरेर फर्किएका थिए।
प्रहरी, सशस्त्र र गुप्तचर निकाय राष्ट्रिय अनुसन्धान विभागले तयार पारेको गोप्य प्रतिवेदन अनुसार ह्यारीलाई कट्टरपन्थी आतंकवादी संगठनहरु इस्लामिक स्टेट अफ इराक एन्ड सिरिया (आइएसआइएस-आइएसआइएल), लस्कर ए तोयबा, हरकत उल मुजाहिद्दिन र इन्डियन मुजाहिद्दिन समेतले आफ्नो मुख्य निसानामा राखेकाले उनलाई उच्च सुरक्षा दिन सुझाएको थियो।
नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक बमबहादुर भण्डारीका अनुसार नेपालमा अन्तर्राष्ट्रिय आतंकवादीभन्दा क्षेत्रीय आतंकवादी संगठनको क्रियाकलाप देखिएका कारण नेपाल भ्रमणमा आउने विशिष्टहरुलाई यस्ता संगठनबाट सुरक्षा चुनौती रहँदै आएको छ। राजकुमार ह्यारीको सुरक्षा जिम्मेवारी केन्द्रीय सुरक्षा सेल अन्तर्गत सेनाले गरेको उनले बताए। उनको सुरक्षा विश्लेषण भने नेपाल प्रहरीले अन्य सुरक्षा निकायको सहयोगमा तयार गरेको थियो।
राजकुमार ह्यारीको भ्रमणअघि बेलायती सुरक्षा अधिकारी समेतलाई सो विश्लेषण उपलब्ध गराइएको थियो। सोही कारण उनको भ्रमण एक दिनअघि सारियो। उनका पूर्वनिर्धारित कार्यक्रमको समय तालिका र रुट समेत परिवर्तन गरियो। उच्च सुरक्षा स्रोत अनुसार ह्यारीको गोरखा र बर्दिया भ्रमण उपयुक्त नहुने भन्दै सकेसम्म रद्द गर्न भनिएको थियो। तर उनको सुरक्षामा खटिएको टोलीले समय तालिकामा सामान्य फेरबदल मात्र गर्दै मजबुत सुरक्षा प्रबन्ध सहित भ्रमण सफल बनाएका थियो।
बेलायती गुप्तचर संस्था एमआई–६ र सेनाको गुप्तचर निकाय डिएमआईले राजकुमार ह्यारी जाने स्थानको सुरक्षाका लागि एक साताअघिदेखि रेकी गरेको थियो। उनी जाने स्थानमा डग स्निफिङ र क्लोज स्क्रिनिङको व्यवस्था गरिएको थियो।
राजकुमार ह्यारीले सन् २००७ र २००८ मा ७७ दिन अफगानिस्तानको हेलमन्ड प्रान्तमा तालिवान विरुद्धको कारबाहीमा अन ग्राउन्ड एयर कन्ट्रोलर र २०१२ देखि २०१३ मा २० हप्ता अफगानिस्तानमै आर्मी एयर कोर्पमा एपाची हेलिकोप्टरको को-पाइलट र गनरको जिम्मेवारी निर्वाह गरेका थिए। २०१५ मा ब्रिटिस आर्मीबाट अवकास लिएका ह्यारीको विगतको सैन्य जीवनका कारण कट्टरपन्थी उनको हत्या गर्न चाहने विश्लेषणमा उल्लेख गरिएको छ।
यस्तै, ह्यारीले अफगानिस्तानमा रहँदा तालिवानी मारेको भन्ने समाचारपछि तालिवानका प्रवक्ता जविउल्लाह मुजाहिदले सार्वजनिक रुपमा आफ्नो सबै शक्ति प्रयोग गरेर भए पनि ह्यारीलाई क्षति गर्ने अभिव्यक्ति समेतको सुरक्षा विश्लेषण गरिएको हो। अलकायदाले आफ्ना धार्मिक लडाकु (जिहादी) हरुलाई वेबसाइट मार्फत ह्यारीको हत्या गर्न सार्वजनिक अपिल गरेको थियो।
बेलायत सरकारले ह्यारीको सुरक्षाका लागि वार्षिक १२ करोड पाउन्ड बजेट छुट्याएको छ । यस्तै उनीसँग जोडिएका व्यक्तिको सुरक्षामा समेत वार्षिक लाखौं पाउन्ड खर्चने गरेको छ।
२०७२ चैत्र ६ गते विशेष विमानबाट नेपाल आएका राजकुमार ह्यारी १० गते फर्किएका थिए।
ह्यारीको सुरक्षा खतराका पाँच कारण
१. आतंकवाद विरुद्ध बेलायतको नीति
२. ह्यारीले मुस्लिम समुदायलाई लक्षित गरी विगतमा गरेका सम्बोधन
३. बेलायती सैनिकमा रहँदा दुई पटक अफगानिस्तानको बसाइ
४. बेलायत र विश्वको ध्यान आकर्षित गर्ने योजना
५. बेलायती सेनामा गोर्खा फौजसँग भएको भेदभाव
ह्यारीको सुरक्षामा मुख्य खतरा मानिएका पाँच समूह
१. तालिवान र अलकायदाको धार्मिक लडाकु दस्ता र समर्थक
२. दशेस नामले प्रख्यात आतंकवादी संगठन आइएसआइएस
३. लस्कर ए तोयबा, हर्कत उल मुजाहिद्दिन र इन्डियन मुजाहिद्दिन
४. मुस्लिम कट्टरपन्थी समूह
५. जिन्जर कट्टपन्थी र पापाराजी
ह्यारीमाथि हुन सक्ने आक्रमणका पाँच प्रकृति
१. आत्मघाती बम आक्रमण
२. आत्मघाती कारबम आक्रमण
३. व्यावसायिक हत्यारा वा पोख्त निसानेबाजको प्रयोग
४. साइबर आक्रमण
५. जुत्ताचप्पल फ्याँक्ने, कालो फ्याँक्ने
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।