काठमाडौं– मलेसियाबाट गैरआवासीय नेपाली संघ (एनआरएन) को आसन्न अधिवेशनमा सहभागी हुन कैलाश नाउ काठमाडौँमा छन्। उनलाई सहभागीसँग तस्वीर खिचाउन भ्याइनभ्याई छ। अधिवेशनमा ७७ देशबाट सहभागी सबै उनको जुँगाको फ्यान भएका छन्। ७ वर्षदेखि पालेको दाह्री र जुँगाका फ्यान उच्चपदस्थ व्यक्ति पनि छन्। मलेसियन प्रधानमन्त्री नजाब रजिक समेत उनको जुँगाका फ्यान हुन्।
नाउको परिवार पुस्तौँदेखि नाई व्यवसायमा आबद्ध छ। कैलाशलाई भने हजुरबुबा सेठाई नाउले कैँची चलाएको सम्झना छ। उनी बाबुले कैँचीकै सहारामा परिवार पालेको स्मरण गर्छन्। उनी पनि कपाल काट्ने पुस्तौँनी व्यवसायमा संलग्न भए।
'परिवार बढ्दै गयो, खर्च महँगो भयो। त्यसैले सन् २००५ मा म मलेसिया पुगेँ,' कैलाशले भने, 'मलेसियामा पनि आफ्नो पेशालाई निरन्तरता दिन पाएँ। मैले पुरानो व्यवसायलाई त्याग्न सकिनँ, मलेसियामा सैलुन सञ्चालन गरेँ।’
मलेसियन प्रधामन्त्री रजाकसँग कैलाश
सुरुमा उनले फ्याक्ट्रीमा मजदुरको काम गरे। दुई वर्ष काम गरेपछि उनले अलिअलि पैसा कमाए। खल्तीमा व्यवसाय गर्न पुग्ने पैसा जम्मा भयो। त्यसपछि उनले सैलुन सञ्चालन गरे। सुरुसुरुमा चीनजानका साथीहरु उनको सैलुनको ग्राहक भए। विस्तारै उनका ग्राहक पनि बढ्दै गए। ग्राहकमध्ये ८० प्रतिशत नेपाली दाजुभाई रहेको कैलाश सुनाउँछन्। ’मेरा ग्राहक नेपाली दाजुभाइ नै हुनुहुन्छ, उहाँहरुलाई सेवा दिन पाउँदा म खुसी छु। पैसा पनि सन्तुष्ट हुनेगरी नै कमाएको छु,’ उनले भने।
कपाल काटेर उनी करिब मासिक १ लाख रुपैयाँ कमाउँछन्। सन् २००७ देखि मलेसियामा 'नेपाल फेमस हेयर कटिङ सैलुन' सञ्चालन गरेका उनी अब शाखा विस्तार गर्ने तयारीमा छन्। ’सैलुन राम्रैसँग चलेको छ, अब शाखा खोल्ने सोच बनाएको छु,’ उनी भन्छन्।
अरुको कपाल-दाह्री सफाचट पार्ने कैलाश आफू पनि सफा चट हुन्थे। तर, सन् २०१० देखि दाह्री पाल्ने रहर पलायो। उनले सात वर्षदेखि दाह्रीजुँगा काटेका छैनन्। उनको दाह्रीको स्याहार र शैलीका फ्यान पनि धेरै छन्। मलेसियामा धेरैले उनीसँग फोटो खिचाएका छन्।
'गत वर्ष अगस्ट ३१ मा मलेसियाको स्वतन्त्रता दिवसको कार्यक्रम थियो। कार्यक्रममा म पनि सहभागी थिएँ,' उनले सुनाए, 'मलाई प्रधानमन्त्री नजिब रजाकले नियालिरहेका रहेछन्। सुरक्षाकर्मीलाई बोलाउन पठाए र फोटो खिचाए।' फोटो खिचाएपछि प्रधामन्त्री रजाकले भने- 'मिसाई बायाचान्ते’
प्रधानमन्त्री रजाकको भनाइको अर्थ थियो, 'तिम्रो दाह्रीजुँगा मनपर्यो, म फ्यान भएँ।' स्वतन्त्रता दिवसमा सुरक्षाकर्मीहरुले समेत उनीसँग फोटो खिचाएका थिए।
कैलाश एनआरएनको प्रतिनिधि भएर नेपाल आएका हुन्। उनी हालै मात्र प्रतिनिधिमा चुनिएका हुन्। साना तथा मझौला व्यवसाय सञ्चालन गर्नेहरुको हकहितमा लाग्ने उम्मेदवारलाई आगामी कार्यकालका लागि छनोट गर्ने उनी बताउँछन्।
’ठूला व्यवसाय गर्नेहरुको मात्रै होइन साना व्यवसायीको समेत प्रतिनिधित्व हुन सक्नुपर्छ,' कैलाशले भने, 'एनआरएनमा हामीजस्ता साना व्यवसायीको हकहितमा लाग्ने जसले प्रतिबद्धता जनाउँछ उसैलाई मत दिन्छु।’
कैलाश आफ्ना सन्तानले पनि यही पेशा अँगालेको हेर्न चाहान्छन्। 'बाबु-बाजेको पेशा मैले अँगाले, त्यसलाई व्यवसायका रुपमा विस्तार गर्दैछु। मेरा सन्तानले समेत यही पेसा पच्छ्याउन् भन्ने मेरो चाहना छ,’ उनले सुनाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।