काठमाडौं-फरक क्षमताका सागर सुनार (विश्वकर्मा) विश्वको सर्वोच्च शिखर सगरमाथा चढ्ने तयारीमा लागेका छन् । ३ फिट ७ ईञ्चमात्र उचाई रहेका ३० वर्षीय सागरले सगरमाथाको सफल आरोहण गरेर विश्वमा फरक क्षमताका भएका व्यक्तिहरुले पनि केही गर्न सक्छन् भन्ने सन्देश दिन सगरमाथामा पाइला टेक्न लागेको बताए ।
सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले अबको केही दिनमा आफू सगरमाथा आरोहणका लागि सगरमाथा आधार शिविर तर्फ जान लागेको जानकारी दिए । आरोहण गर्नुअघि उनले लोबुचे पिकको आरोहण गर्नेछन् ।
उनले सगरमाथा आरोहण कम्पनी बुकिङ ओन प्रा.लिबाट गर्न लागेका हुन् । सागर तयारीस्वरुप अहिले आरोहणलाई आवश्यक तयारी गरिरहेका छन् ।
दिदी उर्मिला सुनारको प्रेरणाले सगरमाथा चढ्न आँट आएको उनी बताउँछन् । ‘हामी जस्ता होचो फरक क्षमता भएका व्यक्तिहरुलाई समाजले हेर्ने दृष्टिकोण नराम्रो छ । उनीहरुको प्रतिनिधित्व गर्दै म सगरमाथाको चुचुरोमा पाइला टेक्न चाहन्छु । अबको कही दिन हप्तामा सगरमाथा आरोहण गर्ने विश्वास लिएको छु,’ सागर भन्छन् ।
दिदी उर्मिलाले आर्थिक रुपमा सहयोग गरेको उनको भनाइ छ । अहिले आर्थिक सहयोगका लागि सागर शिखर संस्था गठन गरेर अभियानसमेत चलाइरहेका छन् । सहयोग गर्नका लागि उनले अपिलसमेत गरे।
विश्वको सर्वोच्च शिखर सगरमाथा चढेर देशको झण्डा फहराउँदै विश्व रेकर्ड राख्ने आफ्नो चाहना रहेको सागरले बताए । 'हामी होचा र फरक क्षमता भएकालाई समाजले नराम्रो नजरले हेर्छ । हेलाँ गर्छ । हेप्छ । म सगरमाथा चढेर त्यहाँबाट विश्वलाई त्यो दृष्टिकोण परिवर्तन गर्न सन्देश दिन चाहन्छु,' सागर भन्छन्, 'हामी किन थिचिने ? किन मिचिने ? म जस्ता अरु फरक क्षमता भएकाहरुका लागि मनोबल पनि बढोस्।'
सागरले यसअघि दोलखाको रामदुङ पिक (५९२५ मिटर)को आफ्नै व्यक्तिगत खर्च र परिवारको सहयोगमा सफल आरोहण गरिसकेका छन् । सागरको चाहना होचो र फरक क्षमता भएकाहरुको एउटा संस्था खोल्ने योजना छ । आफ्नै नेतृत्व फरक क्षमता भएका व्यक्तिहरुले पनि आत्मबल बढाएर,चाहेको कुराहरु गर्न सकिकन्छ भन्ने सन्देश दिने उनको इच्छा छ ।
सगरमाथासहित ७ वटै महादेशका चुचुरो आरोहण गर्ने लक्ष्य रहेको उनको भनाइ छ ।
को हुन् सागर ?
सागरको जन्म कास्कीको मादी गाउँपालिका ११ सैमराङस्थित तेसा गाउँमा २०५० सालमा भएको थियो । बिरामी भएका कारणले उनले गाउँमा कक्षा ५ सम्ममात्र अध्ययन गर्न सके । सागर २१ वर्षको उमेरमा काठमाडौं पसेका थिए । त्यसपछि उनी सुन पसलमा काम गर्न थाले । बीचमा न्यूरोसम्बन्धी बिरामी भएपछि सागरले त्यो काम पनि छाड्नु पर्यो । टाउकोको नसा च्याप्पिएकोले निहुरिएर काम गर्न नसक्ने भएपछि सागर घरमै बस्न थाले । अपरेशन भएपछि अहिले उनको अवस्था अलि ठिक भएको छ । उनले दिदीको प्रोत्साहनले गर्दा उनले २०८० सालमा एसइइको परीक्षा पनि दिएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।