काठमाडौं – प्रहरी प्रधान कार्यालयले ‘एक चौकी एक मोटरसाइकल’ अवधारणा कार्यान्वयन गर्न लागेको छ। उक्त अवधारणा कार्यान्वयन गर्न प्रहरी प्रधान कार्यालयले ३ सय ४० थान मोटरसाइकल किन्दैछ।
३ सय ४० थान मोटरसाइकल किन्न ६ करोड २९ लाख रुपैयाँ विनियोजन भइसकेको छ। प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार मोटरसाइकल किन्न अहिले ठेक्का प्रक्रिया अगाडि बढाइएको छ।
खासगरी ग्रामीण भेगका प्रहरी चौकीहरुमा साधन नुहँदा समस्या हुने गरेकाले प्रधान कार्यालयले मोटरसाइकल खरिद गर्न लागेको हो। अपराध भएको ठाउँमा तत्काल प्रहरी पुग्न र अपराधी पक्राउ गर्न मोटरसाइकल भएपछि सहज हुने भएकाले देशैभर रहेका प्रहरी चौकीका लागि मोटरसाइकल खरिद गर्न लागिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
चौकीको कमाण्ड प्रहरी सहायक निरीक्षक तथा प्रहरी नायव निरीक्षकहरुले गर्दै आएका छन्। इलाका कार्यालयसम्म गाडीको सुविधा भए पनि चौकीहरुमा गाडीको सुविधा छैन।
संघीयता कार्यान्वयनमा आएसँगै सबै स्थानीय तहमा प्रहरी कार्यालय स्थापना गरिएको छ। त्यसकारण पनि प्रहरी चौकीको संख्या थप भएका छन्। यस आर्थिक वर्षमा ३ सय ४० प्रहरी चौकीले मोटरसाइकल पाउनेछन् भने बाँकी प्रहरी चौकीले अर्को आर्थिक वर्षमा मोटरसाइकल पाउनेछन्।
त्यस्तै प्रहरी प्रधान कार्यालयले १८ वटा टाटा पिकअप भ्यान खरिद गर्ने भएको छ। प्रति पिकअप भ्यान ३० लाख २८ हजार ४ सय रुपैयाँ लाग्नेछ। १८ वटा पिक भ्यानका लागि ५ करोड ४५ लाख ११ हजार २ सय रुपैयाँ छुट्याइएको छ। पिकअप भ्यान भने इलाका प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय तथा काठमाडौं उपत्यकाका प्रहरी कार्यालयहरुमा आवश्यकता अनुसार वितरण गरिने प्रहरी प्रधान कार्यालय प्रबन्ध शाखाले जनाएको छ।
प्रबन्ध शाखाका अनुसार पिकअप भ्यान किन्न बजेट विनियोजन भइसककेको छ भने ठेक्का प्रक्रियाको टुंगो लाग्ने बित्तिकै पिकअप भ्यान खरिद गरिने छ। संघीयता कार्यान्वयन भएसँगै प्रहरी कार्यालयहरु थप गरिएकाले सवारी साधनको अपुग भएको र कतिपय सवारी साधन पुराना भएकाले थप गरिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।