काठमाडौं- अर्थमन्त्री डा. युवराज खतिवडाले पूरक बजेट विनियोजनमा सरकारले अहिलेसम्म कुनै छलफल नगरेको बताएका छन्।
मंगलबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा बोल्दै अर्थमन्त्री खतिवडाले बजेट कार्यान्वयन सुरु भएको दुई महिनामात्रै भएको र यससम्बन्धमा कुनै छलफल नभएको बताएका हुन्।
सरकारले अर्धवार्षिक समीक्षा नभएसम्म पूरक बजेटको बारेमा चर्चा नगर्ने उनले बताए। ‘बजेटको अर्धवार्षिक समीक्षापछि सरकारले चाहेको कुनै क्षेत्रमा खर्च गर्न पुगेन वा धेरै राजश्व असुली भएका कारण विनियोजन नयाँ क्षेत्रमा गर्नुपर्ने अवस्था आयो भने पूरक बजेट ल्याइने हो,’ उनले भने, ‘यसबारे अहिले नै चर्चा गर्न आवश्यक छैन।’
उनले बजेट कर्यान्वयनको दुई महिना नपुग्दै अहिले नै पूरक बजेटबारे कुनै चर्चा नभएको दाबी गरे।
अर्थ सचिव डा. राजन खनालले पनि पूरक बजेट ल्याउने वा नल्याउने विषयमा अहिले नै कुनै छलफल नभएको बताए। ‘पूरक बजेटको बारेमा संविधानमा नै स्पष्ट व्यवस्था छ,’ उनले भने, ‘सोहीअनुसार नै हामी अघि बढ्ने हो।’
केही समयअघि नेकपाका अध्यक्ष पुष्पकमल दाहालले पूरक बजेट ल्याउन आवश्यक देखिएको धारणा सार्वजनिक गरेका थिए।
तर अाज अर्थमन्त्री खतिवडाले तत्काल पूरक बजेट नआउने औपचारिक धारणा व्यक्त गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।