बैतडी– बैतडीको पञ्चेश्वरमा एक बालिका मृत फेला परेकी छन्। जिल्लाको पञ्चेश्वर गाउँपालिका–१ सुन्तला टोल घर भएकी १३ वर्षीया अस्मिता सार्की मृत फेला परेकी हुन्।
बुधबार बिहान विद्यालय गएकी सार्की घर फर्किने बेला नजिकैको खोलामा चिउरीको रुखमा झुण्डिएको अवस्थामा फेला परेकी पञ्चेश्वर गाउँपालिका-१ का वडाध्यक्ष दिवान सार्कीले बताए।
डुग्रीखान माविमा कक्षा ६ मा अध्ययनरत अस्मिताले किन झुण्डिएर आत्महत्या गरिन् भन्ने विषय खुलेको छैन। विद्यालयमा आज परीक्षाफल प्रकाशन भएको थियो। परीक्षाफल प्रकाशनपछि घर फर्केकी अस्मिताले बाटोमै आत्महत्या गरेकी हुन्।
घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए। प्रहरी निरीक्षक केसीकै नेतृत्वमा घटनास्थलतर्फ प्रहरी टोली गएको छ।
बैतडीमा पछिल्लो समयमा आत्महत्या गर्नेको संख्या बढ्दै गएको छ। गएको शनिबारमात्रै दोगडाकेदार गाउँपालिका–२ कफलकोटकी १७ वर्षीया पशुपति महराले पनि झुण्डिएर आत्महत्या गरेकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।