काठमाडौं– विश्वविख्यात ट्राभल्स एजेन्सी इन्ट्रपेडका सहसंस्थापक तथा अध्यक्ष ड्यारेल वेडले नेपालको पर्यटन क्षेत्रको समृद्धिका लागि गुणस्तरीय पर्यटक ल्याउन आवश्यक रहेको बताएका छन्।
तीन दिने नेपाल भ्रमणका क्रममा काठमाडौंमा रहेका उनले नेपालको पर्यटन क्षेत्रको समृद्धिका लागि गुणस्तरीय पर्यटक ल्याउनपर्ने आवश्यकता रहेको बताएका हुन्।
उनले नेपालले धेरै पर्यटक भन्दा पनि गुणस्तरीय पर्यटक भित्र्याउन पहल गर्नुपर्ने बताए। उनले काठमाडौंमा विश्वव्यापी पर्यटनका साथै नेपालको पर्यटन क्षेत्रको प्रवर्द्धन तथा समृद्धिका बारेमा पर्यटन व्यवसायीसँग अन्तरक्रिया गरेका थिए।
उनले कति जना पर्यटक आए भन्दा पनि कस्ता पर्यटक आए भन्नेकुराले पर्यटन क्षेत्रमा बढी प्रभाव पार्ने बताए। नेपालले पर्यटकको संख्यामा भन्दा पनि गुणस्तरीय पर्यटक ल्याउन बढी जोड दिए पर्यटन क्षेत्रको विकास हुने बताए।
कार्यत्रममा वेडले इन्ट्रपेड स्थापना नेपालकै कारण सम्भव भएको पनि स्मरण गरे। अष्ट्रेलियाको मेलबर्नमा मुख्यालय रहेको इन्ट्रपेडले विश्वका १५० देशमा विभिन्न पर्यटकीय क्षेत्रको भ्रमण गराउँदै आएको छ।
नेपाल लगायत २८ वटा मुलुकमा इन्टरपेडले कार्यालय स्थापना गरेर भ्रमण गराउँदै आएको छ। इन्टरपेड विश्वको सबैभन्दा धेरै पर्यटकलाई भ्रमण गराउने ट्राभल एजेन्सीमध्ये एक हो। २०२३ मा इन्ट्रपेडले २ लाख ५० हजार पर्यटकलाई विभिन्न देशको भ्रमण गराएको थियो।
जसमध्ये ४ हजार पर्यटक नेपाल आएका थिए। इन्ट्रपेडले २०२४ मा ५ हजार पर्यटक नेपाल ल्याउने लक्ष्य लिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।