काठमाडौं- उपत्यका बाहिर नेपाली सिनेमाको राम्रो बजार छ। पोखरालाई छोडेर नेपाली सिनेमाको उपत्यका बाहिरको बजार भनेको हाल पूर्व-पश्चिम महेन्द्र राजमार्ग र त्यसको आसपास बसेका बजारहरुमा रहेका सिनेमा हलहरु हुन्।
महेन्द्र राजमार्गको दक्षिणतिरका शहरमा नेपाली सिनेमाको पकड नगन्य छ। नेपालको एउटा ठूलो जनसंख्या बस्ने यो क्षेत्र नेपाली सिनेमा एउटा ठूलो सम्भावित बजार हो तर त्यहाँ नेपाली सिनेमा प्रवेश गर्न सकेको छैन।
सर्सर्ती हेर्दा धेरैलाई भाषिक समस्याले नेपाली सिनेमा त्यहाँ चल्न नसकेक आमबुझाइ छ। वितरकले पनि यी ठाउँमा खासै रुचि देखाउँदैनन्। निर्माताले पनि यहाँ बजार नखोजिरहेको वर्तमान अवस्था छ।
त्यसो त नेपाली भाषाका सिनेमामा तराईंमूलका कलाकारको उपस्थिति औंलामा गन्न मिल्ने मात्रै छ। नामै लिनुपर्दा कामेश्वर चौरसिया र रविन्द्र झा 'मुन्ना' पछिल्लो समय नेपाली सिनेमाका चर्चित अनुहार हुन्। केही सिनेमामा यी अनुहार भए पनि कथामा मधेस अझै अटाइसकेको छैन।
शुक्रबारबाट प्रदिप भट्टराईको सिनेमा 'महाजात्रा' रिलिज हुँदैछ। सिनेमाका प्रमुख तीन पात्रमध्येका एक हुन् अभिनेता रविन्द्र झा। सोमबार राजधानीमा सिनेमाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा झालाई नेपाली सिनेमाको बजार कसरी खोज्ने भनेर जिज्ञासा राख्दा उनले बडो सरल र सहज उत्तर दिए।
पहिले सित्तैमा बानी लगाउने अनि बानी परेपछि बेच्ने। उनले संसारमा कुनै पनि सामान बेच्नका लागि यो लोकप्रिय सूत्र भएको बताए। नेपाली सिनेमाको बजार खोज्न यो शैली सही हुने उनको बुझाइ छ।
‘जसरी कुनै पनि नयाँ प्रोडक्ट आउँदा फ्रीमा बाँडेर र विभिन्न स्किम चलाएर बानी पारिन्छ। त्यसरी बानी पार्न पनि सकिन्छ,’ झाले भने।
उनले विगतमा जनकपुरका हलहरुमा मारामार नेपाली सिनेमा चलेको सम्झना साझा गरे। ‘नेपाली फिल्ममा तराइको उपस्थिति नहुनुले पनि फिल्म नचलेको बुझाइ राखिएको छ। अब तराईमा पनि फिल्म चलाउन आग्रह गर्छु। फिल्म चल्दैन भन्ने प्रवृत्तिलाई हटाएर हल हलमा नेपाली फिल्म प्रदर्शन गरिनुपर्छ। पहिले तराईमा एक/दुई वटा फिल्म आउँथ्यो। मलाई ती दिन अहिले पनि याद छ। नेपाली फिल्म हेर्न मारामार हुन्थ्यो, अहिले फिल्म हरायो। अनि कसरी चल्छ ?,’ उनले प्रश्न गरे।
यस्तो हुनुमा नेपाली सिनेकर्मी दोषी भएको धारणा उनले राखे। ‘फिल्म चल्दैन भने पनि एक/दुई दिन झुन्ड्याइदिनुस् न। पक्कै दुई जना त आउँछन्। त्यसले बानी पार्छ, त्यो दुई जनाले चार जनालाई फिल्म राम्रो छ भन्छन्। ती चार जनाले प्रत्येक चार-चार गर्दा १६ हुन्छ। फिल्म नचलाउने? अनि चल्दैन भन्न मिल्छ?’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।