काठमाडौं– विभिन्न एप्लीकेशनमार्फत् अनलाई जुवा खेलाउने चार जनालाई काठमाडौं उपत्यका अनुसन्धान कार्यालयले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा काभ्रेपलान्चोकको मण्डनदेउपुर नगरपालिका–१० घर भइ हाल काठमाडौंको चावहिल बस्दै आएकी २६ वर्षीया सरिता लामा, सिन्धुपाल्चोकको थाङपाल–८ घर भइ हाल चावहिल बस्ने २५ वर्षीया सारङ्गा गुरुङ, खोटाङको बाहुनीडाँडा–६ घर भइ हाल गोकर्णेश्वर नगरपालिका–८ वेशीगाउँ बस्ने २३ वर्षीया पूर्णिमा राई र नुवाकोटको शिवपुर–१ घर भइ हाल गोकर्णेश्वर–४ नामगेल बस्ने २८ वर्षीय तेम्बा राई रहेका छन्।
प्रहरीका अनुसार उनीहरुले क्यास एप, फायरकिरिङ लगायतका एप्लीकेशनमार्फत् विभिन्न खेलहरुमा अनलाइनमार्फत् बाजी राख्दा जितिन्छ भन्ने विश्वास दिलाएर हारजित हुने र आफूले लाभ लिने उद्देश्य राखी रकमको बाजी राख्न लगाएर सट्टेबाजी गराएर खेल खेलाउने गरेका थिए।
प्रहरीले यसबारे सूचना पाएपछि उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले पूर्णिमा राई लगायतका व्यक्तिहरुलाई अनलाइन गेम खेलाउन प्रयोग भएका ल्यापटप तथा मोबाइलसहित उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरी सोमबार नै जिल्ला प्रहरी परीसर टेकुमा कारबाहीका लागि पठाइएको छ।
उनीहरुको साथबाट पाँच थान ल्यापटप र ११ थान मोबाइल बरामद गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।