काठमाडौं– काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले विभिन्न मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौंको कागेश्वर मनोहरा नगरपालिका–१० पेप्सीकोलाका ४४ वर्षीय केदार अर्याल रहेका छन्।
सोमबार बिहान ९ बजेतिर पक्राउ परेका अर्याललाई प्रारम्भिक अनुसन्धान गरी आवश्यक कारबाहीको लागि इलाका प्रहरी कार्यालय दमक झापामा पठाइएको छ।
अर्यालले पम्पी देवानकी हजुरआमाको दमकमा रहेको तीन बिघा जमिन ग्लोबल आईएमई बैंकमा रहेकोमा बैंककै प्रतिनिधि बताएर प्रलोभनमा पारी ५० लाख रुपैयाँ कारोबार गरेको देखिएको छ। यस्तै बरुण थापाले केदार अर्यालविरुद्ध ठगी मुद्दा दिएका थिए।
उक्त जाहेरीपछि अर्याललाई एक वर्ष कैद र ५० हजार गरिवाना हुने फैसला भएको थियो। २०७६ मंसिर ३० गते जिल्ला अदालत काठमाडौंले उक्त फैसला गरेको थियो।
यस्तै बारा जिल्ला अदालतमा पनि उनको नाममा बैंकिङ कसुरसम्बन्धी मुद्दा विचाराधीन रहेको र उनी फरार प्रतिवादी रहेका थिए। यस्तै काठमाडौंमा नेपाल टेलिकमको पत्रमा केरमेट गरी मिति र अंकहरु फेरबदल गरी विश्वासघात गरेकोमा लिखतसम्बन्धी कसुरमासमेत उनी फरार रहेको पाइएको छ।
यति मात्र नभइ दुर्गा प्रसाद प्रसाईंको लेनदेन मुद्दामा जिल्ला अदालत झापाबाट ८४ लाख बिगो र दुई वर्ष कैदको फैसला भएको बुझिएको प्रहरीले जनाएको छ। उक्त फैसला कार्यान्व यन र अन्य मुद्दामा अनुसन्धानका लागि अर्याललाई दमक पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।