काठमाडौं– नेपाल टेलिकमका प्राविधिक अधिकृत निर्मलप्रसाद सिटौलाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालतमा उनीविरुद्ध डेढ करोडभन्दा बढी रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको हो।
उनले कार्यालयमा हाजिर गर्नुका साथै छुट्टै निर्माण कम्पनीमासमेत काम गरेर व्यापार व्यवसाय गरेको तथा सूर्यविनायक-धुलिखेल-सिन्धुली-बर्दिवास सडक आयोजनाको ठेक्का लिएर प्रतिनिधिको रुपमा हस्ताक्षरसमेत गरी एक करोड ६१ लाख २० हजार ४०० रुपैयाँ भ्रष्टाचार गरेको आरोप छ।
अनुसन्धानका क्रममा नेपाल टेलिकमको विनास्वीकृति निजी कम्पनीको शेयर खरिद गरी संस्थापक शेयरधनी बनेर कम्पनीमा निर्देशकको हैसियतमा आर्थिक वर्ष २०६९०७० देखि काम गरिरहेको, पारिश्रमिकवापत रकम बुझेको भेटिएको अख्तियारले जनाएको छ।
उनका अनुसार विभिन्न ठेक्कापट्टासमेतमा सामेल भएर हिमडुङ एण्ड थोकर कन्ट्रक्सन प्रालि कम्पनीबाट ४५ लाख १७ हजार ५०० रुपैयाँ पारिश्रमिक तथा कम्पनीको रिजर्भमा रहेको मुनाफाबाट प्राप्त आय एक करोड १६ लाख दुई हजार ५०४ रुपैयाँसमेत गरेर जम्मा एक करोड ६२ लाख २० हजार चार गैरकानूनी व्यापार व्यवसाय गरी आर्जन गरेको पुष्टि भएको हो।
आयोगले गैरकानुनी व्यापार व्यवसाय गरी आर्जन गरेको सम्पत्ति एक करोड ६२ लाख २० हजार चार रुपैयाँ बिगो कायम गर्दै सजाय तथा गैरकानूनी आर्जन गरेको सम्पत्तिसमेत जफत गर्नुपर्ने मागसहित अदालतमा मुद्दा दायर गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।