काठमाडौ– प्रतिनिधिसभाका विषयगत समितिका सभापतिको निर्वाचन असोज ५ गते हुने भएको छ। सोमबार प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले विषयगत समितिका सभापतिको निर्वाचन असोज ५ गते शुक्रबार बिहान ११ बजेका लागि तय गरिएको जानकारी प्रतिनिधिसभालाई गराएका हुन्।
निर्वाचनको सूचना प्रकाशन गर्न पनि संघीय संसद सचिवालयलाई उनले निर्देशन दिए। यसअघि दुई पटकसम्म स्थगित भएको समितिका सभापतिको निर्वाचन ५ गतेका लागि तोकिएको हो।
सभापति चयन हुन नसक्दा समितिको बैठक जेष्ठ सदस्यले संचालन गर्दै आएका छन्। राष्ट्रियसभाको विषयगत समितिका सभापति भने चयन भइसकेको छ।
प्रतिनिधि सभामा १० वटा विषयगत समिति छन्। अर्थ, अन्तराष्ट्रिय सम्बन्ध, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित, कानुन न्याय तथा मानव अधिकार, कृषि सहकारी तथा प्राकृतिक स्रोत, महिला तथा सामाजिक, राज्य व्यवस्था तथा सुशासन, विकास तथा प्रविधि, शिक्षा तथा स्वास्थ्य र सार्वजनिक लेखा समिति प्रतिनिधि सभामा छन्।
प्रमुख प्रतिपक्षी दल नेपाली काग्रेसले लेखा समिति सहित थप समितिको सभापतिमा दाबी गरेको तर सत्तापक्षले भने एउटा समितिको मात्र सभापति दिन सक्ने भन्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।