काठमाडौं– १५ दिवसीय ऐतिहासिक मिथिला माध्यमिक परिक्रमा आजदेखि धनुषाको कौचरीबाट विधिवतरुपमा सुरु भएको छ।
नेपाल र भारतका हजारौं संख्यामा भक्तजनहरुको सहभागिता रहेको छ। परिक्रमा अन्तर्गत विभिन्न १५ स्थानमा विश्राम गरी एक सय ३३ किलोमिटर पैदलयात्रा गरिन्छ।
सोही यात्राका लागि आज बिहान धनुषाको मिथिला बिहारी नगरपालिका–८ कौचरीस्थित मिथिला बिहारी मन्दिरबाट झाँकी कीर्तनसहित श्रद्धालुहरू प्रस्थान गरेका छन्।
कौचरीको मिथिला बिहारी, जनकपुरको सुन्दर सदन मन्दिरबाट किशोरीजी र रामजानकीसहित जनकपुरको अन्य डोला हनुमानगढीमा आज जम्मा हुनेछन्। फागुन २८ गते बिहानै कल्याणेश्वरको लागि यात्रुहरू प्रस्थान गर्ने, २९ गते भारतकै फूलहरस्थित गिरिजा स्थानमा पुगेर परिक्रमाका यात्रीहरूले विश्राम गर्नेछन्।
फागुन ३० गते ऐतिहासिक स्थान महोत्तरीको मटिहानी पुग्ने बताइएको छ। त्यसैगरी आगामी चैत १ गते जलेश्वरनाथ महादेवस्थानमा विश्राम गर्नेछन् भने २ गते मडै, ३ गते ध्रुवकुण्ड पुगेर विश्राम गरिने कार्यक्रम छ।
चैत ४ गते कञ्चनवन पुगेर त्रेतायुगमा राम र सीताले होली मनाएको लोक मान्यताअनुसार त्यहाँ यात्रीहरूले होली महोत्सव मनाउने बताइएको छ।
चैत ५ गते धनुषाको पर्वता (क्षीरेश्वरनाथ महादेव स्थान) मा विश्राम गर्नेछन् र चैत ६ गते धनुषाधाममा धनुषमन्दिरमा पुगेर विश्राम गर्ने कार्यक्रम छ। चैत ७ गते सतोखर, ८ गते औरही र ९ गते पुनः भारतको बिहारस्थित करुणास्थानमा विश्राम तथा १० गते बिसौलमा पुगेर विधिवतरूपमा मध्यमा परिक्रमा समापन हुनेछ। अन्तिम दिन जनकपुर नगरको पाँचकोसे अन्तरगृह परिक्रमा गरी समाप्त हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।