काठमाडौं– महाशिवरात्रीको अवसरमा नेपालको पथिल होलिडेजले नयाँ दिल्लीको ट्राभल कम्पनी 'ट्रीप टू टेम्पल्स'सँगको समन्वयमा नेपालगन्जबाट १५० जना भारतीय तिर्थयात्रीको कैलाश मानसरोवरको दर्शन गराएको छ।
ट्राभल कम्पनीद्वारा श्री एअरलाइन्सको जहाज चार्टर्ड गरि चीनको तिब्बतमा रहेको हिन्दू धर्मावलम्बीहरूको पवित्र तीर्थस्थल कैलाश मानसरोवरको दर्शन आकाशबाटै गराइएको हो। माउन्टेन फ्लाइटबाट कैलाश पर्वत र मानसरोवरको दर्शनसँगै रावणले तपस्या गरेको राक्षस ताल, अपि र सैपाल हिमाल लगायतको आकर्षक दृश्यावलोकन गर्न पाइन्छ।
कोभिड अघि वार्षिक करिब १४ हजार भारतीय पर्यटक नेपालगन्ज रुटबाट मानसरोवर पुग्ने गरेका थिए। कोभिड पछि भारतीय पर्यटकलाई चीनले भिषा नदिएपछी यो रुट सुनसान बनेको छ जसको सिधा असर सो रुटको पर्यटन व्यवसायमा परेको छ।
यसअघि बाँकेको रुपैडिया नाका हुँदै मानसरोबर जाने पर्यटक नेपालगन्जबाट जहाजमा सिमिकोट गएर एकरात त्यहाँ बास बस्ने र सिमिकोटबाट हिल्स सम्म हेकिकप्टरमा गएर हिल्साबाट २ दिनमा चिनियाँ बसमा ताक्लाकोट हुँदै मानसरोवर पुग्दथे।
मानसरोवरको रुटको चहलपहल कम भएपछि नेपालगन्जको पर्यटन सुस्ताएको समयमा पथिल होलिडेजले पर्यटकीय गतिविधि बढाउन र भिषाका कारण रोकिएका भारतीय पर्यटकलाई मानसरोवर दर्शन गराउने उद्देश्यले मानसरोवरको माउन्टेन फ्लाइट सुरू गरिएको पथिल होलिडेजका प्रवन्ध निर्देशक महेश गौतमले जानकारी दिए।
कैलाश मानसरोवरको दर्शन गर्न चाहने भारतीय पर्यटकहरूका लागि नयाँ गन्तव्यको रुपमा विकास हुने ट्रिप टू टेम्पल्सका प्रबन्ध निर्देशक विकास मिश्राले बताए। माउन्टेन फ्लाइटकै लागि १५० जना भारतीय पर्यटक बिहीबार नेपालगन्ज आएर होटल सिद्धार्थमा बसेका थिए। उनीहरूलाई श्री एअरलाइन्सको जहाजमा फ्लाइट गराइएको हो।
शिव पार्वतीको घर देख्ने बाल्यकाल देखिको सपना पूरा भएको कर्नाटका भारत देखि आएकी ३३ वर्षीया अरुणा यनले बताइन्। ‘भिषा उपलब्ध भए पनि उमेरका कारण जान गाह्रो थियो। यसरी जहाजबाटै दर्शन गर्न पाउँदा अत्यन्तै खुशी छौं,' नयाँ दिल्लीबाट आएका ६७ बर्षिय गोपाल सेठले खुसी साटे।
दर्जनौं हिउँ चुचुरा पार गर्दै कैलाश पर्वत र मानसरोवरलाई नजिकबाट नियाल्दा कोही खुशीले भावविह्वल हुँदै रोइरहेका थिए भने कोही चिच्याउँदै ‘हर हर महादेव’ भन्दै थिए। भारतीय ट्राभल कम्पनी ट्रिप टू टेम्पल्सले भारतका विभिन्न राज्यका नागरिकहरूलाई तिर्थयात्रा गराउँदै आएको छ।
यस अगाडि पथिल होलिडेज र ट्रिप टू टेम्पल्सले श्री एअरलाइन्सको समन्वयमा गत माघ १५ देखि कैलाश मानसरोवरको माउन्टेन फ्लाइट सुरुवात गरेको थियो। भारतीय पर्यटकलाई लक्षित गर्दै आगामी दिनमा पनि माउन्टेन फ्लाइट मार्फत कैलाश-मानसरोवर दर्शनका लागि हरेक हप्ता उडान गराउने उद्देश्य रहेको मिश्राले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।