काठमाडौं– पूर्वराजदूत केशवराज झाको बबरमहलस्थित आफ्नै निवासमा हत्या भएको एक महिना पुग्न लाग्यो। गत भदौ ३ गते राति चक्कु प्रहारबाट ८० वर्षीय झाको हत्या भएको थियो। तर हत्या कसले, किन गर्यो भन्ने प्रहरीले भेउसम्म पाउन सकेको छैन।
महानगरीय प्रहरी अपराध महाशाखाका एसपी सोमेन्द्रसिंह राठौरको नेतृत्वमा घटनाको अनुसन्धान भइरहे पनि कुनै 'क्लु' फेला पर्न सकेको छैन। हत्यामा परिवारका सदस्यको पनि संलग्नता हुन सक्ने भन्दै प्रहरीले अनुसन्धान अघि बढाएको छ।
झा हत्याको आरोपमा पक्राउ परेका पाले सानुकान्छा तामाङ, माली आइतसिंह तामाङ र भान्छे जयबहादुर तामाङ भदौ २९ गते ८/८ हजार रुपैयाँ धरौटीमा छुटेपछि हत्या झनै रहस्यमय बन्दै गएको छ। उनीहरुको पोलिग्राफ परीक्षणमा पनि केही नदेखिएकाले धरौटीमा रिहा भएका हुन्।
४० जनासँग बयान
प्रहरीले झा हत्याको अनुसन्धानको सिलसिलामा अहिलेसम्म ४० जनासँग बयान लिइसकेको जनाएको छ। ‘हामीले परिवारका सदस्यसहित विभिन्न ४० जना व्यक्तिसँग बयान लिइसकेका छौं,’ महानगरीय प्रहरी अपराध महाशाखाका एसएसपी धीरजप्रताप सिंहले भने, ‘अनुसन्धान जटिल छ। लङटर्म लाग्न सक्छ।’
एक प्रहरी अधिकारी भन्छन्, ‘हत्याको अनुसन्धान यस्तो स्थितिमा पुगेको छ। पीडा परेको परिवारलाई झपारेर सोध्न सक्ने अवस्था छैन।'
परिवारका सदस्य र आफन्तहरु प्रहरीको शंकाको घेरामा छन्। परिवारका सदस्यको समेत कल डिटेल हेरेको र पोलिग्राफ समेत लिने तयारी भएको एसएसपी सिंहले बताए।
घटनाको दुई दिनअघि मात्र विदेश फर्केका झाका छोरा–बुहारी घटनापछि नेपाल नै फर्केका थिए। बाबुको अन्त्येष्टि र अन्तिम कर्ममा सहभागी भएर बुहारी फेरि विदेश फर्किसकेकी छिन् भने छोरा किरणराज झा अहिलेसम्म नेपालमै छन्। छोरालाई बोलाएर पटकपटक प्रहरीले सोधपुछ गरिरहेको छ।
यसबारे महाशाखाका एक अधिकारीले भने, ‘हत्याको अनुसन्धान यस्तो स्थितिमा पुगेको छ। पीडा परेको परिवारलाई झपारेर सोध्न सक्ने अवस्था छैन।'
झाको परिवारमा छोरा–बुहारीका अलावा श्रीमती र एक छोरी पनि छन्। छोरी डा राजश्री झा स्त्री रोग विशेषज्ञ हुन्। संयुक्त राष्ट्रसंघ अन्तर्गत इस्ट टिमोरमा कार्यरत उनी बुबाको हत्यापछि नेपालमै छिन्।
सबुत भेटियो, अपराधी भेटिएन

प्रहरीले घटनास्थलबाट झाको हत्यामा प्रयोग गरिएको चक्कु लगायत अन्य प्रमाण फेला पारेको थियो। तर चक्कुको ल्याब टेस्ट गर्दासमेत कसैको फिंगर प्रिन्टसँग नमिलेको प्रहरीको भनाइ छ। सबुत नछाडी हत्या गर्नु र भएको सबुतबाट पनि कुनै क्लु फेला नपरेका कारण हत्या व्यावसायिक अपराधीबाट गरिएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ।
बयोवृद्ध कूटनीतिज्ञको निर्मम हत्या हुँदासमेत कतैबाट अनुसन्धानका लागि प्रहरीलाई दबाब सिर्जना भएको छैन।
चक्कुमा फिंगर प्रिन्ट फेला नपरेपछि प्रहरीले पञ्जा लगाएर हत्या गरेको आशंका गरेको थियो। झाको घरबाहिर फालिएको पञ्जा प्रहरीले प्रमाणका रुपमा उठाए पनि त्यसबाट समेत कुनै तथ्य फेला पर्न सकेन।
अनुसन्धानका लागि तालिमप्राप्त कुकुर पनि प्रहरीले प्रयोग गरेको थियो। कुकुर पाले भएको ठाउँमा गएर रोकिएपछि प्रहरीले आशंका गरेर पालेलाई नियन्त्रण लिएर बयान त लियो तर घटनाबारे थप कुरा आउन सकेन।
सबैतिरका गेट बन्द भएको घरमा हत्याराहरु कसरी प्रवेश गरे? झ्यालको जाली काट्दा कोठामा रहेकी श्रीमतीले किन थाहा पाइनन्? कसैसँग पनि रिसइबी नभएको भद्र परिवारका सदस्यलाई किन आक्रमण भयो? घरमा रहेको कुकुर त्यो रात किन भुकेन? जस्ता प्रश्नहरु अझै अनुत्तरित छन्। जसका कारण प्रहरी आफैंमा अचम्मित छ। र, घटना सेलाउँदै गएको छ। किनकि यतिबेला कञ्चनपुर प्रकरण निकै तातेको छ,जुन प्रहरी र सरकारका लागि टाउको दुखाइ बनेको छ।
नागरिक समाज र मिडियाको चासो पनि कञ्चनपुर घटनाप्रति तिख्खर बनिरहँदा एक बयोवृद्ध कूटनीतिज्ञको निर्मम हत्या हुँदा कतैबाट अनुसन्धानका लागि प्रहरीलाई दबाव सिर्जना भएको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।