काठमाडौं– प्रहरी भन्दै काठमाडौंको घट्टेकुलोस्थित ३२ क्याफेमा लुटपाट गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा दोलखाको शैलुङ्ग गाउँपालका–१ घर भएका ३२ वर्षीय प्रमेश्वर खड्का, रामेछापको मन्थली नगरपालिका–९ का २८ वर्षीय मिलन तामाङ भिनने विनोद सुन्दास र ओखलढुंगाको चिशंखुवागढी गाउँपालिका–४ का ३७ वर्षीय प्रेम राई छन्।
उनीहरुलाई प्रहरी वृत्त सिंहदरबारबाट खटिएको टोलीले पक्राउ गरेको हो। यो समूहले फागुन २० गते राति अन्दाजी ९ बजेतिर सतिस सिंह कुँवरलाई सामाजिक सञ्जालमार्फत् आइफोन लगायतका इलेक्ट्रिक सामान किन्ने भन्दै सामान लिएर ३२ क्याफेमा आउन भनेका थिए।
सोही अनुसार कुँवर सामान बेच्न भन्दै ३२ क्याफेमा पुगेका थिए। त्यसपछि हाल पक्राउ परेको तीन् जनाको समूह मिलेर कुँवरलाई लुटपाट गरिएको पाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा एसपी नवराज अधिकारीले बताए।
उनीहरुले आईडी कार्ड र रेडियो सेटसमेत देखाएर धम्क्याउँदै प्रहरी भन्दै लुटपाट गरेका थिए। उनीहरुबाट नगद २१ हजार ४७० रुपैयाँ, आइफोन ६ थान, एप्पल सिरिज ७ थान, एप्पल वाच २ थान, एन्ड्रोइड फोन १ थान, हेडफोन १ थान, एअरड्रप १ थान र राष्ट्रिय अनुसन्धान विभागको परिचयपत्रसमेत बरामद गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।