काठमाडौं- नेपाल वायुसेवा निगम सञ्चालक समितिको कार्यकारी अध्यक्षमा मदन खरेल नियुक्त भएका छन्। आइतबार राति सकिएको मन्त्रिपरिषद् बैठकले खरेललाई निगमको कार्यकारी अधिकार प्रयोग गर्नेगरी अध्यक्षमा नियुक्त गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले जानकारी दिए।
यस्तै, नेपालको संविधानको धारा २७७ अनुसार राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा विशिष्ट प्रकारका योगदान पुर्याउने विभिन्न व्यक्तिलाई विभूषण दिने सम्बन्धी समितिको प्रस्ताव राष्ट्रपतिसमक्ष पेस गर्ने निर्णय पनि भएको छ।
चिनीको लागि यस वर्षका लागि १ लाख टनको कोटा निर्धारण गररिएको छ भने उखु उत्पादक किसानहरुलाई प्रतिक्विन्टल ६५ रुपैयाँ २८ पैसा अनुदान दिने बैठकले निर्णय गरेको छ।
मुलुकी फौजदारी अपराध संहिताको अनुसूची हेरफेर गरी सबै प्रकारका ठगी मुद्दाहरुको वादी नेपाल सरकार रहनेगरी निर्णय भएको पनि मन्त्री बास्कोटाले जानकारी दिए।
यस्तै, मन्त्रिपरिषद् बैठकले नेपालगन्जको खजुरामा रहेको कपास विकास समितिलाई राष्ट्रिय कपास विकास समितिमा नाम परिवर्तन गर्ने पनि निर्णय गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।