काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुशील ज्ञवालीले भूकम्पबाट क्षति भएका भौतिक संरचनाको पुनर्निर्माण र पुनस्र्थापनाका बाँकी काम सम्पन्न गर्न थप करिब ६ खर्ब रुपैयाँ लाग्ने बताएका छन्।
अन्तर्राष्ट्रिय मुद्रा कोषका प्रतिनिधिहरूसँगको छलफलमा सिइओ ज्ञवालीले चालू आर्थिक वर्ष (आव) २०७५/७६ मा पुनर्निर्माणका लागि ३ खर्ब ३६ अर्ब रुपैयाँ खर्च रुपैयाँ खर्च हुने बताए।
पुनर्निर्माणका लागि अपुग हुने रकम जुटाउनका लागि सरकार र दातृ निकायसँग छलफल भइरहेको उनको भनाइ थियो।
प्राधिकरणले पुर्निर्माणमा पहिलो वर्ष २२ अर्ब, दोस्रो वर्ष ४९ अर्ब, तेस्रो वर्ष १ खर्ब १४ अर्ब रुपैयाँ खर्च गरेको थियो । पुनर्निर्माणका लागि चालू आवमा१ खर्ब ५१ खर्ब रुपैयाँ विनियोजन गरिएको छ।
०७३ वैसाखमा तयार गरिएको विपद् पश्चात्को पुनर्लाभ कार्यढाँचा (पिडिआरएफ)मा पुनर्निर्माणका लागि ९ खर्ब ३८ अर्ब रुपैयाँ लाग्ने आकलन गरिएको थियो।
नेपालको पुर्निर्माणका लागि आयोजना गरिएको अन्तर्राष्ट्रिय सम्मेलनमा छिमेकी मुलुक सहित दातृ निकायहरुले प्रतिबद्धता जनाएको कूल ४ खर्ब १० अर्ब रुपैयाँ मध्ये ६७ अर्ब उद्धार तथा राहत सहितका कार्यक्रममा खर्च भइ ३ खर्ब ४३ अर्ब रहेकोमा त्यसमध्ये २ खर्ब ६२ अर्ब रुपैयाँको सम्झौता भइसकेको छ।
‘पुनर्निर्माणका लागि विनियोजन गरिएको रकम खर्च गरी आवश्यक रकमको व्यवस्थापन र दातृ सम्मेलनमा व्यक्त प्रतिबद्धता अनुसारको रकम जुटाउन पहल गर्छौं,’ सिइओ ज्ञवालीले भने, ‘पुनर्निर्माणका काम अघि बढ्दै गर्दा आवश्यक रकम जुटाउन सहज हुनेछ।’
अन्तर्राष्ट्रिय मुद्रा कोषका मिसन प्रमुख ग्रीर्ट अल्मेकिन्डर्सले पुनर्निर्माणको क्षेत्रमा पूँजीगत खर्च बढेकोमा प्रशंसा गर्दै पुनर्निर्माणमा हुने खर्चले नेपालको आर्थिक वृद्धिमा महत्वपूर्ण सहयोग पुग्ने धारणा व्यक्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।