काठमाण्डौं- हिमालय क्षेत्रको पानी निर्यात गरेर अर्थ उपार्जन गर्न जापानले नेपाललाई सुझाव दिएको छ।
नेपालको हिमालयमा पर्याप्त मात्रामा पिउन योग्य पानी रहकाले त्यसको निर्यात गरेर पैसा कमाउन जापानको सुझाव छ। जापानको सत्तारुढ डेमोक्रेटिक पार्टीका नेता, सांसद र व्यवसायी सम्मिलित प्रतिनिधिमण्डलका सदस्यहरुले आइतबार वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतसँग उक्त सुझाव राखेका हुन्।
‘विश्वभर अब सबैभन्दा ठूलो संकट पानीको आउँदैछ’, टोलीका सदस्य तथा पूर्वसांसद माचुदाले भने, ‘नेपालको हिमालय क्षेत्रमा पर्याप्त पानी छ, त्यसलाई विदेशमा बेचेर मनग्य पैसा कमाउन सक्नुहुन्छ।’ जवाफमा मन्त्री बस्नेतले पानी विदेश बेच्नेबारे खानेपानी मन्त्रालयले योजना बनाएको र त्यस सम्बन्धमा सम्भाव्यता अध्ययन भइरहेको जानकारी दिए।
मन्त्री बस्नेतले नेपालमा बढ्दो सहरीकरणसँगै फोहोर व्यवस्थापन जटिल र चुनौतीपूर्ण बन्दै गएको उल्लेख गर्दै त्यस क्षेत्रमा जापानले प्रयोगमा ल्याएको विधि सफल भएकाले नेपालमा पनि त्यस्तै दिर्घकालिन समाधाको विधिमा जान लागिएको बताए।
‘एक ठाउँमा जम्मा भएको फोहोरलाई अन्यत्र लगेर फाल्ने तरिकाले मात्र फोोर व्यवस्थापन दिगो नहुने हाम्रो अनुभवले देखाएको छ’, उनले भने, ‘फोहोरको पुनः प्रयोग गर्नेबारेसोचिरहेका छौं।’ यस्तै विकास र वातावरणबीच सन्तुलन कायम गर्ने चुनौती रहेको चर्चागर्दै उहाँले विकासलाई दिगो बनाउन वातावरणमैत्री नीति र विधि तय गर्ने काममा सरकार लागेको उल्लेख गरे।
‘विकास र वातावरणबीच कसरी सन्तुलन कायम गरेर अगाडि बढ्न सकिन्छ भन्नेबारे गृहकार्य गरिरहेका छौं’, उनले भने, ‘हाम्रो मन्त्रालयले त्यस विषयलाई समेटेर तयार पारेको नयाँ कानूनको मस्यौदाबारे संघीय संसदमा माननीयहरुबीच छलफल भइरहनुभएको छ।’
नेपालले वन क्षेत्रलाई आर्थिक विकासको माध्यम बनाएर कार्ययोजना बनाएको भन्दै उहाँले मुलुकका सातवटै प्रदेश र ७ सय ५३ वटै स्थानीय तहमा वनमा आधारित उद्योग स्थापना गर्न लागिएको बताए। त्यस्तो योजनाले स्थानीय जनताको जीवनस्तर उकास्नुका साथै राष्ट्रिय अर्थतन्त्रमा समेत महत्वपूर्ण योगदान गर्ने उनकाे भनाइ थियो।
विकास र वातावरणबीच सन्तुलन कायम गराउन आफ्नो मन्त्रालयले आक्रामक रुपमा देशभर वृक्षारोपणकोकार्यक्रम सञ्चालन गर्नलागेको पनि उनले बताए। चुरे क्षेत्रमा दनी प्रणाली व्यवस्थापनमा आधारित कार्यक्रम र राष्ट्रिय निकुञ्ज तथा संरक्षित क्षेत्रमा ‘इकोटुरिज्म’ कार्यक्रमलाई विशेष महत्वका साथ अघि बढाइएको मन्त्री बस्नेतले जानकारी दिए।
यस्तै विश्वमा वातावरणीय प्रदूषण गराउन नेपालको भूमिका शून्य दशमलव शून्य २७ प्रतिशत रहेको भए पनि वातावरण प्रदूषण भएको मुलुकको सूचीमा नेपालको नाम अगाडि आइरहेको विषयमा विश्व समुदायको ध्यानाकर्षण गराइने पनि उल्लेख गरे।
नेपालले जापानसँग हरित उद्यमशीलता, जलबायु परिवर्तनको अवस्थामा सुधार तथा वातावरणीय प्रदूषण कम गर्ने एजेन्डामा सहकार्य गर्न चाहेको बताए।
भेटमा प्रतिनिधिमण्डलको नेतृत्व गरेका त्यहाँको डेमोक्रेटिक पार्टीका नेता यसुहिरो नाकाइले नेपालको फोहोर व्यवस्थापनमा सहयोग गर्न आफ्नो सरकार तयार रहेको बताए।
यस्तै जापानी पूर्वसांसद गो सिनोहराले वातावरण प्रदूषण नेपालको मात्र नभई विश्वकै साझा समस्या भएकालेत्यस एजेन्डामा सबै मिलेर काम गर्नुपर्ने बताए। टाेलीले नेपालको वातावरणीय सन्तुलन कायम गर्ने सन्दर्भमा जापान सरकारका तर्फबाट सक्दो सहयोग हुने प्रतिवद्धता जनाएकाे छ। विकास र वातावरणबीच सन्तुलन कायम गरेर अघि बढ्न टोलीको सुझाव थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।