जनकपुर– जनकपुर–पटना बस सेवा सुरु भएको छ।
नेपालको तर्फबाट स्वयम्भु मञ्जुश्री यातायात प्रालीले सञ्चालन गर्न लागेको जनकपुर–पटना बस सेवालाई प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले एक कार्यक्रमबीच हरियो झण्डा देखाएका थिए। बस बिहान साढे ११ बजे पटनाका लागि प्रस्थान गरेको हो।
राउतले बसले हिन्दु धर्मावलम्बीहरुको आस्थाको केन्द्र जनकपुरमा भारतीय पर्यटकलाई ल्याउन ठूलो भूमिका खेल्ने बताए। उनले यो बस सेवाले भारत बिहारको राजधानी पटना र प्रदेश २ को राजधानी जनकपुरलाई जोडेको हुँदा दुई देशको सम्बन्धलाई अझ प्रगाढ बनाउने उल्लेख गरे।
उतले जनकपुरधाम –पटना नेपाल भारत मैत्री बस सेवाले जनकपुरको धार्मिक पर्यटकीय विकासमा विशेष टेवा पुग्ने बताए।
बस सेवाले नेपाल र भारत बीचको धार्मिक, समाजिक तथा पारिवारिक सम्बन्ध अझ मजबुत हुने उल्लेख गर्दै मुख्यमन्त्री राउतले बस सञ्चालनमा देखिएको अप्ठयाराहरुलाई अन्त गर्न नेपाल तर्फका सम्बन्धित अधिकारीहरुलाई निर्देशन समेत दिए।
गत २८ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आएका बेला सोही दिन जनकपुरमा प्रधानमन्त्री केपी शर्मा ओली र मोदीले संयुक्त रुपमा हरियो झण्डा देखाएर यात्रुबाहक बस अयोध्या पठाएका थिए। तर सो सेवा नियमित हुन नसके पनि जनकपुर–पटनाका लागि बस चल्न थालेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।