काठमाडौं- लेखक तथा पत्रकार चेतनाथ आचार्यको संस्मरण 'चीन चियाउँदा' सार्वजनिक भएको छ।
राजधानीमा आयोजित कार्यक्रममा नेपालस्थित चिनियाँ दूतावासका पोलिटिकल तथा प्रेस अफिसर क्वाङ लि, चीन अध्ययन केन्द्रका कार्यवाहक अध्यक्ष सुन्दरनाथ भट्टराई, नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती र प्राज्ञ सुलोचना मानन्धरले पुस्तकको संयुक्त विमोचन गरे।
पुस्तकमाथि बोल्दै कुलपति उप्रेतीले चीन चिन्ने चिनाउने आधारका लागि पुस्तक उपयोगी हुने बताए।
'चीन-नेपालबीच धेरै सूचनाको ग्याप छ,' उनले भने, 'त्यो पूर्ति गर्न र भ्रम निवारणमा पुस्तक सहयोगी बन्नेछ।' आफू भोक्ताका रुपमा लेखकले समृद्ध चीनभित्रका विकृतिलाई पनि समेटेको उनको भनाइ थियो।
चिनियाँ दूतावासका प्रतिनिधि लिले चिनियाँ भाषामा पनि दख्खल राख्ने लेखकले चीनमाथि पुस्तक लेखेकोमा खुसी व्यक्त गरे। 'म नेपाली राम्रो बुझ्दिन,' उनले भने, 'उहाँको लेखनशैली बारे सुनेको आधारमा पुस्तक पक्कै पठनीय हुनेछ।' पुस्तकले नेपाल-चीनबीचको छिमेकी सम्बन्धलाई अझ प्रगाढ बनाउने उनले विश्वास व्यक्त गरे।
प्राज्ञ मानन्धरले चीन गएका वा जान नपाएका सबैलाई पुस्तक गाइड बुकका रुपमा रहने बताइन्। उनले रोचक र सरल भाषामा लेखिएको पुस्तकमा बुद्ध र सगरमाथामाथि हेर्ने चिनियाँ दृष्टिकोणलाई आलोचनात्मक रुपमा प्रस्तुत गरिएको बताइन्।
चीन अध्ययन केन्द्रका भट्टराईले चिनियाँ खानपान, संस्कृति र दैनिक जीवनयापनलाई सरल रुपमा उतारिएको बताए। 'त्यहाँ रहेका नेपाली सांस्कृतिक सम्पदाबारे पनि छुटाइएको छैन,' उनले भने, 'पुस्तक एकै बसाइमा सकिने खालको छ, किनकि थालेपछि छोड्न मन लाग्दैन।'
लेखक आचार्यले चिनियाँ समाजमाथिको अनुभव सेयर गर्न पुस्तक लेखेको प्रस्ट पारे। उनले भने, 'चार वर्ष चीनमा रहँदाका अनुभव र पाएको सूचना र जानकारीलाई यथार्थ रुपमा पस्कने मेरो कोसिस हो। भारतबारे धेरै जानकारी राख्ने हामी चीन चिन्न दु:ख गर्दैनौं, हिमाललाई अवरोध ठान्छौं।' हाल चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको विदेशी विशेषज्ञका रुपमा कार्यरत आचार्यको पुस्तकलाई सांग्रिला बुक्सले प्रकाशन गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।