फिलिपिन्स– फिलिपिन्समा पनि शनिबार शक्तिशाली आँधी आएपछि जनजीवन नराम्रोसँग प्रभावित भएको छ।
आँधीका कारण अहिलेसम्म तीन जनाको मृत्यु भएको र अरु चार जना घाइते भएका विवरण प्राप्त भएको त्यहाँका अधिकारीले जनाएका छन्।
फिलिपिन्सको उत्तरी क्षेत्रमा आएको आँधी र बर्षाले आफ्नो मार्गमा पर्ने क्षेत्रको धेरै भौतिक संरचनामा क्षति पुर्याउने अनुमान गरिएको छ। यस आँधीको मार्गमा ४० लाखभन्दा बढी मानिस रहेका छन्।
प्रतिघण्टा १ सय ८५ किलोमिटरका दरले आँधी आएको मौसम अधिकारीले जानकारी दिएका छन्। उनीहरुले आँधी आउने बेलामा घरबाहिर ननिस्कन र सुरक्षित तरिकाले घरभित्रै बस्न आह्वान गरेका थिए।
स्थानीय समयानुसार गएराती १ बजेर ४० मिनेटपछि आँधी त्यहाँ आइपुगेको थियो। आँधीपछि त्यो क्षेत्रमा विद्युत आपूर्ति अवरुद्ध भएको छ। हजारौँ मानिसलाई सुरक्षित स्थानमा सारिएको छ।
आँधी आउदो मंगलबारसम्म नै जारी रहने अनुमान गरिएको छ। यो अवधिमा सामुद्रिक र हवाइ यात्रामा रोक लगाइएको छ भने विद्यालयहरू बन्द गरिएका छन्।
फिलिपिन्समा प्रत्येक बर्ष औसतमा २० ओटा यस्तै आँधी आउने गरेका छन् भने सयौँको मृत्यु हुने गरेको छ। त्यसैका कारण दशौँ लाख गरिबीको रेखामुनी पर्ने गरेका छन्।
त्यसैगरी हजारौं बासिन्दा बाढी पहिरोबाट पनि प्रभावित हुने गरेको समाचारमा जनाइएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।