काठमाडौं– उपत्यकामा बोरिङ गर्ने र बोरिङको पानी आपूर्ति गर्ने ४० ट्याङकरले पिउन अयोग्य पानीलाई वितरण गरेको भेटिएको छ। खानेपानी मन्त्रालयले गरेको अनुगमनका क्रममा ती ट्यांकरले वितरण गरेको पानी पिउन अयोग्य भएको पाइएको हो।
पिउनका लागि अयोग्य पानी पिउने पानी भन्दै बिक्री गर्न थालेको सर्वसाधारणको गुनासोको आधारमा मन्त्रालयले बोरिङ र ट्यांरको अनुगमन गरेको थियो। शनिबार बिहान खानेपानी मन्त्री बिना मगरसहितको अनुगमन टोलीले उपत्यकाका विभिन्न स्थानमा अनुगमन गरेको थियो।
मापदण्ड नपुर्याई खानेपानी वितरण गर्दै आएका बोरिङ र ट्यांकरका कागजात नियन्त्रणमा लिइएको छ। फोहोर पानी बेचेको, प्रशोधन नगरेको, मसानघाटको पानी सिधै ट्यांकरमा भर्ने गरेको गुनासो स्थानीयले मन्त्री मगरसँग गरेका थिए।
अनुगमनका क्रममा सरकारले व्यवस्था गरेको स्टिकर प्रयोग नगरेको भेटिएको थियो। ४० प्रतिशत ट्यांकरले स्टिकरको प्रयोग नगरेका भेटिएको छ । पिउने पानीका लागि निलो स्टिकर, घरायसी काममा प्रयोग गरिने पानीका लागि हरियो स्टिकर र अन्य प्रयोजनको पानीका लागि पहेंलो स्टिकर लगाउनुपर्ने व्यवस्था छ।
स्टिकरको कार्याधिकार अनुरुप पानी वितरण गर्न मन्त्रालयले चेतावनी दिएको छ। मन्त्री मगर र खानेपानी मन्त्रालयका सचिव गजेन्द्रकुमार ठाकुर सहितको टोलीले उपत्यकाका ४० बोरिङ र पानी आपूर्ति गर्ने ट्यांकर को छड्के अनुगमन गरेको हो।
गोदाबारी, हरिसिद्धी, सिद्धी विनायक, बाँसवारी चाबहिल, गौशाला, बालाजु, चोभार, ठूलोभर्याङ, जोरपाटीलगायतका स्थानमा रहेका बोरिङ र ट्यांकरको शनिबार बिहान अनुगमन गरिएको थियो। बोरिङ र ट्यांकरको अनुगमन गर्न मन्त्रालयले ५ वटा टोली बनाएको छ।
मन्त्री मगरले आवश्यक ऐनको अभावमा बेथिति समाधान गर्न नसकिएको बताइन्। उनले भनिन् ‘खानेपानी सम्बन्धि छुट्टै ऐनको मस्यौदा तयार गरेका छौं, त्यो पारित भएपछि उपभोक्ता अधिकार थप सशक्त हुनेछ।’ जार र बोतलको पानी अनुगमन गर्ने क्षेत्राधिकार मन्त्रालयको नभएको भन्दै जार र पानीको अनुगमन गर्ने अधिकार पनि खानेपानी मन्त्रालयमा ल्याउने पहल भएको बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।