काठमाडौं- सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सञ्चालक समिति सदस्य प्रमोद भट्टराई पक्राउ परेका छन्।
सुनसरी जिल्ला इनरुवा नगरपालिका- ५ घर भएका भट्टराई बिहीबार काठमाडौं गोकर्णेश्वर नगरपालिका- ४ माकलबारीबाट पक्राउ परेका हुन्।
उनलाई पक्राउ गरी बिहीबार १ बजे दिउँसो पक्राउ गरी जिल्ला प्रहरी कार्यालय कास्की ल्याइएको प्रहरीले जनाएको छ।
सूर्यदर्शन सहकारीका पीडितहरुले सोमबार मात्रै रवि लामिछाने सहित १८ जना विरुद्ध पुरक जाहेरी समेत दिएका छन्। यता यो सहकारीका मुख्य ठग भनिएका जीबी राईविरुद्ध डिफ्युजन नोटिस जारी भएको छ भने रेड नोटिसका लागि समेत पत्राचार भएको छ।
यो सहकारीको रकम हिनामिना गरेको प्रकरणमा जीबी राईसहित एक दर्जन व्यक्ति अझै फरार छन्।
महेन्द्र भोटे विरुद्ध पनि डिफ्युजन नोटिस जारीका लागि पत्राचार गरिएको थियो। तर इन्टरपोलमा पत्रचार गरेको विषय सार्वजनिक भएपछि भोटेसँगै भविश्वर अर्याल आफैं अदालतमा उपस्थित भएका थिए। कास्की जिल्ला अदालतले उनीहरु दुवै जनालाई पुस १८ गते पुर्पक्षका लागि कारागार चलान गरेको थियो।
सहकारीका कोषाध्यक्ष कुमार रम्तेलसहितका व्यक्ति पनि पक्राउ परिसकेका छन्। जिबी राई ग्यालेक्सी फोर–के टेलिभिजनका सञ्चालक समेत हुन्। उनी विरूद्ध अरू सहकारीमार्फत ठगी गरेको समेत आरोप छ। कास्कीमा मात्रै १९ हजारभन्दा बढी बचतकर्ताको १ अर्ब ३५ करोड रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको आरोप छ।
यो मुद्दा अहिले कास्की अदालतमा विचाराधीन छ। रकम हिनामिना प्रकरणमा सहकारी ऐन र मुलुकी अपराध संहिताको ठगी सम्बन्धी कसुरमा उनीहरु विरुद्ध मुद्दा चलाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।