नयाँ दिल्ली- भारतीय सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा रञ्जन गोगोई नियुक्त हुने निश्चित भएको छ। कानुन मन्त्रालयले बिहीबार एक सूचना जारी गर्दै उक्त जानकारी गराएको हो। सर्वोच्च अदालतको सर्वोच्च पदमा पुग्ने गोगोई भारतको ४६औं प्रधानन्यायाधीश हुनेछन्।
आगामी अक्टोबर ३ मा वर्तमान प्रधानन्यायाधीश दीपक मिश्राको निवृत्त भएपछि गोगोईले पदभार ग्रहण गर्नेछन्। गोसाईले १३ महिनाभन्दा बढी अवधि सर्वोच्च सम्हाल्नेछन्। सन् २०१९ नोभेम्बर १७ मा उनले अनिवार्य अवकाश पाउनेछन्।
राष्ट्रपति रामनाथ कोविन्दले गोगोईको नियुक्तिसम्बन्धी वारेन्टमा हस्ताक्षर गरेका छन्।
सन् १९५४ नोभेम्बर १८ मा जन्मिएका गोगोई सन् सन् १९७८ मा वकालती सेवामा प्रवेश गरेका थिए। सन् २००१ फेब्रुअरी २८ मा गुहावटी उच्च उदालतमा स्थायी न्यायाधीशमा नियुक्त भएका थिए।
यसपछि पञ्जाव उच्च अदालतमा न्याय सम्पादन गरेका गोगोई सन् २०११ फेब्रुअरी १२ मा हरियाणा उच्च अदालतको मुख्य न्यायाधीशमा नियुक्त भए। उनी सन् २०१२ मा सर्वोच्च अदालतकोे न्यायाधीशमा नियुक्त भएका थिए।
भारतीय संसदको प्रमुख प्रतिपक्षी दल कांग्रेसले गोसाईलाई प्रधानन्यायाधीशमा नियुक्ति गरिएकोमा स्वागत गरेको छ। ‘प्रधानन्यायाधीशमा रञ्जन गोगोईको नियुक्तिलाई हामी स्वागत गर्छौं। आफ्नो कार्यकालमा न्यायका उद्देश्य हासिल गर्न विगतजस्तै महत्वपूर्ण योगदान गर्नेछन् भन्ने हाम्रो आशा छ,’ पार्टीको आधिकारिक ट्वीट ह्यान्डलमा उल्लेख गरिएको छ।
वर्तमान प्रधानन्यायाधीश दीपक मिश्राले यही महिनाकाे सुरुवातमा रञ्जन गोगोईकाे नाम सिफारिस गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।