काठमाडौं– रोजगारीका लागि खोटाङदेखि काठमाडौं आएका सुमन राई २०६९ सालदेखि तन्दुरीमा कुकको काम गर्थे। ७ वर्ष काम गरेको अनुभवपछि २०७६ सालमा ललितपुरमा आफैंले होटल खोले।
होटल राम्रोसँग चल्दै थियो। त्यहिबेला नेपालमा कोरोना महामारी फैलियो। लकडाउन भयो र होटल बन्द भयो। होटल नचलेपछि उनले ठूलो घाटा व्यहोरे। लकडाउनको समयमा होटल छाडेर फेरि फेन्सी पसल खोले। तर, फेन्सी पसलबाट आम्दानी राम्रो भएन।
‘भाडा महँगो थियो। आम्दानी राम्रो थिएन। अघिल्लो होटल खोल्दा लागेको ऋण पनि तिर्नु थियो। त्यो पसलको आम्दानीले तिर्ने देखिएन। अस्ति असोजमा मलेशिया जाने सोच लिएर मेनपावर खोज्दै भौतारिएँ,’ उनी सुनाउँछन्।
सुमन मलेशिया जाने लक्ष्य बोकेर सुकेधाराको एक मेनपावरमा पुगे। त्यो मेनपावरका सञ्चालकले मलेशियामाभन्दा रुसी आमीमा भर्ती हुन रुस गए राम्रो कमाइ हुने आश्वासन दिए।
‘मलेशियाभन्दा अहिले रुसमा राम्रो छ। जान खर्च पनि धेरै छैन। मासिक २ लाख ६५ हजार रुपैयाँ कमाइ गर्ने लोभ देखाए। त्यहाँ काम गर्दै गएपछि रेड कार्ड पनि पाइन्छ भनेर लोभ देखाए। युद्ध हुँदै छ भन्ने थाहा भएन,’ उनले भने।
त्यसपछि सुमन रुस जाने तयारीमा लागे। मासिक साढे दुई प्रतिशत ब्याजदरमा ८ लाख रुपैयाँ ऋण लिएर मेनपावरलाई बुझाए। उनलाई भिजिट भिसामा लैजाने प्रोसेस गरियो। उनी गत असोज १५ गते रुस आर्मीमा भर्ती हुनका लागि विदेशिए।
‘त्यतिबेला घरपरिवारमा छुट्टै खुसी छाएको थियो। ऋण गरेरै भए पनि छोरा राम्रो कमाइ हुने देशमा जान लाग्यो भनेर निकै खुसी हुनुहुन्थ्यो,’ उनी सुनाउँछन्, ‘३० दिनको भिसा लगाएर दुबई उडाइयो। दुवैबाट उडेपछि ८ घण्टा एयरपोर्टमा राखियो। त्यहाँको एजेन्ट आएर मस्कोको एक होटलमा लगेर राख्यो। होटल लगेको भोलिपल्टै रसियन आर्मीमा भर्ती गराइयो।’
आर्मीमा भर्ती भइसकेपछि पहिलो क्याम्पमा लगियो। केही दिनपछि पहिलो क्याम्पबाट दोस्रो र त्यहाँ उनलाई दौडिने, कुद्ने, लुक्ने जस्ता तालिम दिइन्थ्यो।
‘त्यस्तो विशेष तालिम भने हुँदैन थियो। त्यही दौडाउने, भाग्ने त्यसपछि सिधै वार्डमा लैजाने हो। अनि युक्रेनसँग युद्ध गर्न अगाडि नेपालीलाई पठाउँछ,’ उनले भने, ‘अनि दोस्रो क्याम्पमा फाइनल सोध्ने रहेछ, ड्युटी गर्न चाहन्छ चाहँदैन। तर त्यहाँ हामीले साइन गरिहाल्यौं।’
सोधे पनि ड्युटी गर्न खुसी छैन नेपाल फर्किन्छु भन्दा पनि पासपोर्ट राखिदिएर नेपाल नपठाएर सिधै युक्रेन पठाउने गरेको उनी सुनाउँछन्। पहिलो, दोस्रो क्याम्प गर्दै एक महिना १५ दिन बितिसकेको थियो।
उनलाई युक्रेन लैजाने तयारी थियो। एक हप्तापछि युक्रेनसँग युद्ध गर्नुपर्ने थियो। उनले सुनेका थिए, ‘युक्रेन युद्धमा नेपालीलाई सबैभन्दा अगाडि ‘रेडजोन’ मा पठाउँछ।’ यही कुराले उनको मनमा त्रास भरिएको थियो।
एकदिन त सँगै भर्ती भएका इलामका एक नेपाली साथीले उनलाई एकजना नेपाली बितेको सुनाए। ‘त्यो घटना सुनेर झन मनमा त्रास बढिरहेको थियो। नेपाल जान पाए हुन्थ्यो भन्ने भइरहेको थियो। मैले रुसको केही भाषा बुझ्दिन थिएँ। स्याङ्जाका दिनेश क्षेत्रीलाई मैले नजिकबाट चिनेको थिएँ। उनैको सहयोगमा म नेपाल फर्किन सफल भएँ। त्यसैले म उनलाई भगवान सरह मान्छु,’ उनी सुनाउँछन्।
तालिममा पनि उनलाई थुप्रै गाली गलौज गर्ने गरिन्थ्यो। तर के भनेको भन्ने कुरा बुझ्न सुमनलाई रसियन भाषा आउँदैनथ्यो। तर दिनेशले भाषा बुझ्न सक्थे। दिनेशले रुसी सेनाले गरेको गाली नेपालीमा बुझाउँथे। दिनेश रुसमा करिब ४ वर्षदेखि काम गर्दै आएका थिए।
‘१० जना नेपाली र १५ जना रुसी सँगै तालिममा थियौं। उ मेरो धेरै नजिकको साथी भएको थियो। रुसी सेनाहरुले गरेको गालीबारे उसले सुनाउँथ्यो। तिमीहरु भाषा बुझ्दैनौ मैले बुझिरहेको छु, यहाँ बस्नु ठीक छैन, यहाँबाट भागौं भन्यो। त्यसपछि मस्कोमा ३ दिन बसेर मसहित ३ जना त्यहाँबाट भागेर आयौं,’ उनले भने।
त्यहाँबाट भाग्दा रुसी सेनाले पक्रेला भन्ने डर थियो। पक्रियो भने ७ वर्ष जेलमा पर्ने अर्को त्रास। १ महिना १५ दिनको तलब आएको थिएन। पैसा पनि छैन, ज्यान पनि दाउमा राखेर काम गर्नु पर्छ भने किन बस्ने भनेर फर्किने निर्णय लिए उनीहरुले। तर १ महिना १८ दिन बसाइपछि लुकीछिपी नेपाल फर्किन सफल भएको उनी सुनाउँछन्।
‘रुसी सेनामा काम गर्न सजिलो छैन, ज्यान दाउमा राखेर काम गर्नुपर्छ। तर पुगेपछि फर्किन पनि उत्तिकै अप्ठेरो छ। फर्किने बेलामा मैले नेपाली ३ लाख रुपैयाँ खर्च गरेँ। जाँदा लगभग ८ लाख रुपैयाँ बुझाएर गएको थिएँ। मेरो आउँदा जाँदा ११ लाख रुपैयाँ सकियो। तर त्यहाँ कमाई गर्न सकिएन,’ उनले भने।
उनले परिवारको पनि साथ पाए। ‘घरपरिवारले पैसा ठूलो कुरा होइन, बाँचेर आउनु ठूलो कुरा हो। टेन्सन लिने काम नगर पछि अर्को राम्रो देश गए जानू नेपालमै केही गर्न सकिन्छ भनेर सम्झाए’पछि हौसला मिलेको उनको भनाइ छ।
अहिले उनले आफूलाई रुस जान प्रलोभन दिने व्यक्तिको खोजी गरिरहेका छन्। तर फेला पार्न नसकेको सुनाउँछन्। ‘पठाउने एजेन्टको नाम पनि थाहा छैन। उसको कम्पनीको पनि नाम थाहा भएन। जाने बेलामा रकम बुझाउँदा उसलाई हातमै क्यास दिएको हो। उनीहरुसँग सम्पर्क छैन,’ उनले भने।
यस्तै उनी नेपालीलाई रुसमा कमाइ हुने प्रलोभनमा नफस्न आग्रह गर्छन्। विभिन्न मुलुक हुँदै भिजिट भिसामा अझै पनि नेपालीहरु रुस गइरहेको उनको भनाइ छ।
‘दुबई लगायतका देशबाट रुस गइरहेका छन्। लगभग १५ हजार नेपाली रुसमा छन्। तर जति नेपाली भए पनि कसैको परिचय हुँदैन। कसैसँग कुराकानी गर्न पाउँदैनन्। त्यहाँ नेपाली बाहेक मंगोलिया, पन्जाबी, भारतीय र चीनतिरका छन्। तर नेपालीलाई युद्धमा अगाडि पठाउँछ। त्यसैले सरकारले जति नेपाली छन् ल्याउने तयारी गरोस्,’ उनको आग्रह छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।