नयाँ दिल्ली- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जन्मोत्सवलाई भव्य तरिकाले मनाइने भएको छ। उनको पार्टी भारतीय जनता पार्टी (भाजपा) ले मोदीको जन्मदिन सेप्टेम्बर १७ लाई ‘सेवा दिवस’का रुपमा भारतभर नै मनाउने तयारी गरेको हो।
प्रधानमन्त्री मोदीले भने आफ्नो ६८औं जन्मोत्सव आफ्नो निर्वाचन क्षेत्रमा पर्ने वाराणासीमा आफ्ना मतदाता र सुभेच्छुक तथा इष्टमित्रहरूसँग मनाउने योजना बनाएका छन्। यो अवसरमा पार्टी नेताहरूले सरसफाई, रक्तदान लगायतका विभिन्न सामाजिक सेवाका कार्यक्रमहरूको आयोजना गरेका छन्।
स्रोतका अनुसार प्रधानमन्त्री मोदीले वाराणासीमा रहेका बेला जन्मोत्सवको दिन स्थानीय एक विद्यालयका बालबच्चाहरूसँग केक काट्नेछन्। त्यसपछि उनले करोडौँ रुपैयाँका विकास आयोजनाहरू पनि घोषणा गर्नेछन्।
प्रधानमन्त्री मोदीले चक्रपथ बनाउने, महिलाका लागि सेवा प्रदान गर्ने, दुई अस्पतालको शिलान्यास गर्ने लगायतका कार्यक्रम छन्। ती प्रत्येक कार्यक्रमका लागि २० करोड भारतीय रुपैयाँ छुट्याइने भएको छ।
स्रोतका अनुसार उनले झन्डै ६ सय करोडको लगानीमा बन्ने क्यान्सर अस्पतालको पनि शिलान्यास गर्ने कार्यक्रम तय भएको छ।
वारणासी भ्रमणका क्रममा प्रधानमन्त्री मोदीले काशी विश्वनाथ मन्दिरको भ्रमण गर्नेछन् भने बनारस हिन्दु विश्वविद्यालयमा सम्बोधन गर्ने भएका छन्।रासस/एएनआई
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।