नयाँदिल्ली- भारतको झारखण्ड राज्यका मुख्यमन्त्री हेमन्त सोरेन पक्राउ परेका छन्। उनलाई जग्गा घोटाला सम्बन्धी आरोपमा प्रवर्तन निर्देशालय (ईडी) को टोलीले पक्राउ गरेको हो। बुधबार दिनभर झारखण्डको राँचीमा उनकै निवासमा बयान लिएको ईडीले गए राति मुख्यमन्त्री सोरेनलाई पक्राउ गरेको हो।
पक्राउ परेकोबारे औपचारिक घोषणा हुनुपूर्व सोरेनले राति नै राज्यपाल कहाँ गएर मुख्यमन्त्री पदबाट राजीनामा दिएको बीबीसीले जनाएको छ। ईडी सम्पत्ति शुद्धीकरण, विदेशी मुद्रा कानुनको उल्लङ्घन लगायत विषयमा छानबिन गर्ने केन्द्रीय निकाय हो। ईडीले सोरेनमाथि राँचीमा सेनाको मातहतमा रहेको चार एकडभन्दा बढी जमिनको नक्कली कागजात बनाएर अवैध खरीद र बिक्री गरेको आरोप लगाएको छ।
यस घटनामा सोरेनसँग यसअघि पनि सोधपुछ भइसकेको थियो। जग्गा घोटाला सम्बन्धी मामिलामा अनुसन्धान अगाडि बढ्दै जाँदा ईडीले अहिलेसम्म १४ जना आरोपीहरूलाई पक्राउ गरिसकेको छ। अभियुक्तले सरकारी अधिकारीसँग मिलेर भूमाफियाको नाममा ठगी गरी ती जग्गा हस्तान्तरण गरेको अनुसन्धानबाट खुलेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।