काठमाडौं– बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्त प्रकरण ५१ दिन पुगिसक्दा पनि रहस्यमै रहेको छ। मुख्य अभियुक्तको बारेमा नेपाल प्रहरीले विभिन्न व्यक्तिलाई शंकाको घेरामा राखेर अनुसन्धान अघि बढाए पनि प्रमाणले पुुुष्टि गर्न भने सकेको छैन। अनुसन्धानका लागि भन्दै नियणन्त्रणमा लिइएकाहरु पनि एक–एक गर्दै हिरासत मुक्त भइसकेका छन्।
उच्च तहको संलग्नता रहेको भन्दै व्यापक जनप्रर्दशन तथा दबाव सिर्जना गर्ने काम अझै पनि जारी छ। प्रदर्शनका दौरानमा एक जना स्थानीयले ज्यानसमेत गुमाइसकेका छन् भने केही घाइतेको उपचार भइरहेको छ। तर, यस प्रकरणसँग जोडिएको ठोस प्रमाण प्राप्त नहुँदा मुख्य अभियुक्त भने उम्कदै आएका छन्। साउन १० गते पन्तको सामुहिक बलात्कारपछि हत्या गरिएको थियो।
उक्त घटना स्थानीयबाट राष्ट्रियकरण भई संसद अवरुद्ध हुदाँसमेत गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले गोलमोटोल जवाफ दिँदा यो प्रकरण सहजै रुपमा किनारा लाग्ने देखिँदैन। शुक्रबार प्रतिनिधिसभा र राष्ट्रियसभामा सांसदहरुले उठाएको प्रश्नमा जवाफ दिन उपस्थित भएका गृहमन्त्रीले उक्त घटनामा अध्ययन गर्न उच्चस्तरीय टोली खटाएको र छिट्टै अपराधी पक्राउ पर्ने भन्दै आफ्नो भनाइलाई औपचारिकतामा मात्रै सिमीत राखे।
घटना भएको दुई महिना पुग्नै लाग्दासमेत उनले संसदमा देखाएको लाचारीपनले यो प्रकरण सहज रुपमा टुङ्गिने सम्भावना देखिँदैन। निर्मलाका परिवारजन तथा स्थानीयले लगाएको आरोपको आधारमा नेपाल प्रहरीले निलम्बित डिएसपी डिल्लीराज विष्ट तथा घटनामा संलग्न रहेको आरोप लगाउँदै कारबाहीको माग गरिएका अन्य २ जनाको डिएनए परीक्षण सुरु गरेको छ।
नेपाल प्रहरी र त्रिवि शिक्षण अस्पतालका फरेन्सिक विज्ञ डा हरिहर वस्तीसहितको टोलीले निलम्बित एसपी विष्ट, उनका छोरा किरण विष्ट तथा भीमदत्त नगरपालिका (कञ्चनपुर)का नगरप्रमुख सुरेन्द्र विष्टका भतिज आयुष विष्टको डिएनए परीक्षण सुरु गरेको हो।
उनीहरुको डिएनए परिक्षणपछि उक्त प्रकरण सुल्झने दाबी सरकारको रहेपनि सहज रुपमा समाधान होला भन्ने देखिँदैन। घटना हुदाँको अवस्थामा भएका प्रमाणहरु नष्ट प्रहरीकै सहयोगमा भएकाले यो प्रकरण अझै लम्बिने देखिन्छ। लास भेटिएको स्थलमा प्रहरीले सुरुवाल धोएको, रोशनी बमको घरमा रङरोगन गर्नु र निर्मला पन्तका मामाले समेत निर्मलाको छिट्टै क्रियाकर्म गर्न जोड दिनुले घटना झनै रहस्यमय र पहुँचवालाको संलग्नता रहेको आंकलन गर्न सकिन्छ ।
यसअघि मुख्य अभियुक्त मानिएका दिलिप सिंह विष्टको डिएनए परिक्षण गर्दा घटनामा संलग्न नरहेको पाइएपछि सामान्य तारेखमा मंगलबार रिहा गरिएको थियो। उनीसँगै घटनामा संलग्न रहेको आशंकामा गिरफ्तार गरिएका रोसनी बमलाई सामान्य तारेखमा तथा बबिता बमलाई ३० हजार रुपैयाँ धरौटीमा छोडिएको थियो।
निर्मला हत्या प्रकरणमा पछिल्लो ५१ दिनमा के–के भयो?
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।