काठमाडौं– अभिनेता आकाश मगर निर्देशित फिल्म `जिग्री´को तीन पोस्टर सार्वजनिक भएसँगै रिलिज मिति पनि घोषणा गरिएको छ।
सुस्केरा आर्ट्सको निर्माण तथा लोकल सिनेमाको साथमा बनेको यो फिल्मले ‘एउटा आलु जस्तो, अर्को तामा’जस्तो ट्यागलाइन राख्दै फागुन ४ गते रिलिजमा आउने जानकारी गराएको हो।
निर्देशक आकाशको यसअघि ‘अध्याय’ र ‘कथा ७२’ फिल्ममा मुख्य अभिनय छ। उनले केही वर्ष रंगमञ्चमा अभिनय र निर्देशन पनि गरेका छन्।
कमेडी–क्राइम–एक्सन-ड्रामाको मिश्रण रहेको ‘जिग्री’मा फिल्ममा निर्देशक आकाशसँगै अभय राज बराल, सुशील राज पाण्डे, पशुपति राई, सुप्रिया राना, रोशन सुवेदी, जीवन बराल, वासुदेव खनाल, नवीन लम्साल, केदार श्रेष्ठ, दिवाकर घिमिरे, सुशीला लक्ष्मी महर्जन, मनिष व्याञ्जु, स्नेहा रसाइली, अर्जुन पौडेल, शंकर भण्डारी लगायतको अभिनय छ।
फिल्म `जिग्री´ काठमाडौँमा अनेकन् महत्वकांक्षा बोकेर आएका फरक व्यवहार भएका दुई युवाको कथा हो। ती युवाहरूले महँगी र अभावमा पिल्सँदै काठमाडौँमा टिकेर बस्नका लागि गरेको सङ्घर्ष फिल्मको मुख्य विषय रहेको छ। वर्तमान समयमा आम नेपाली युवाहरूको परिश्रम अनुसारको आम्दानी नहुने अवस्था र त्यस अवस्थाले निम्त्याएका घटनाहरूलाई जिग्रीले कमेडी, क्राइम र एक्सन शैलीबाट दर्शक माझ देखाउन खोजेको छ।
फिल्मका कार्यकारी निर्माता कुसुम थापा मगर र निर्माता कुमार श्रेष्ठ रहेका छन्। फिल्ममा छायाङ्कन सुमित भट्ट र सोमित माझी, सम्पादन र कलर सरुन मानन्धर, ध्वनि परिकल्पना र मिश्रण किशोर आचार्य, प्रोडक्सन डिजाइन आकी थेक्पा, सङ्गीत सुवास पौडेल र भास्कर स्वाँर, कास्टिङ निर्देशक केदार श्रेष्ठ र भिएफएक्स लुज राजभण्डारीको रहेको छ।
फिल्मको केही दिनमा नै टिजर सार्वजनिक गरिनेछ भने वितरण सुस्केरा आर्ट्सले गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।