काठमाडौं– इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले गाजा क्षेत्रमा इजरायली सुरक्षा नियन्त्रण जारी राख्ने विषयमा आफ्नो अडान दोहोर्याएका छन्। उनले इजरायल र प्यालेस्टिन २ अलग–अलग देश हुन नसक्ने अडान राख्दै आएका छन्।
शनिबार सार्वजनिक भएको नेतन्याहुको पछिल्लो बयानले अमेरिका तथा अन्य देशले दिइरहेको भनिएको ‘दबाब’लाई खारेज गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्।
यसअगाडि प्रधानमन्त्री नेतन्याहुले इजरायलले ‘दुई देशको सिद्धान्त’ अस्वीकार गर्ने बताएका थिए। त्यसपछि शुक्रबार अमेरिकी राष्ट्रपति जो बाइडेनले नेतन्याहुसँग फोनमा कुराकानी गरेका थिए।
नेतन्याहु र बाइडेनबीचको वार्तामा प्यालिस्टिनी क्षेत्रको भविष्यलाई लिएर चर्चा भएको बताइएको छ। उक्त कुराकानीपछि बाइडेनको भनाइ थियो, ‘दुई देशको समाधानका विषयमा इजरायलले विरोध गर्ने छैन।’
नेतन्याहुको पछिल्लो सन्देशले गाजा युद्ध सकिएपछि पनि वेस्ट बैंकमा स्थापित हुने शासन व्यवस्थाको विषयलाई लिएर उनको सरकार र अमेरिकाबीचको मतभेद झन् गम्भीर हुँदै गएको देखिएको छ।
उक्त क्षेत्रमा दीर्घकालीन राजनीतिक स्थिरताका लागि इजरायल र प्यालिस्टिन २ अलग देश रहनु जरुरी हुने अमेरिकाको मान्यता छ। यद्यपि नेतन्याहु सरकार अमेरिकी मान्यतालाई स्वीकार गर्ने पक्षमा छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।