काठमाडौं– सर्वश्वसहित जन्मकैद सुनाइएका एक व्यक्ति २१ वर्षपछि पक्राउ परेका छन्। पक्राउ पर्नेमा धादिङको ज्वालामुखी गाउँपालिका–१ घर भएका ७० वर्षीय सूर्यबहादुर दवाडी छन्।
उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सोमबार रुपन्देहीको सिद्धाथनगर नगरपालिका–१ बेलहियाबाट पक्राउ गरेको हो। दवाडीले अंशसम्बन्धी विषयमा झगडा हुँदा आफ्नै श्रीमती सानुमायाको हत्या गरेका थिए।
२०५९ फागुन २८ गते उनले सानुमायालाई नाम्लोले घाँटीमा बाँधेर हत्या गरी रुखमा झुड्याएका थिए। उनीविरुद्ध धादिङ जिल्ला अदालतले २०६१ जेठ ५ गते सर्वश्वसहित जन्मकैदको फैसला सुनाएको थियो।
उक्त फैसलालाई पछि सर्वोच्चले पनि सदर गरेको थियो। पक्राउ परेका दवाडीलाई कारबाहीका लागि जिल्ला अदालत धादिङमा बुझाइएको सीआईबीका प्रवक्ता तथा एसपी नवराज अधिकारीले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।