काठमाडौं- गृहमन्त्री रामबहादुर थापा बादलले कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्त प्रकरणमा सरकार छानबिनको अन्तिम अवस्थामा पुगेको बताएका छन्।संघीय संसदको माथिल्लो सदन राष्ट्रियसभाका सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै गृहमन्त्री थापाले अपराधी जो सुकै भए पनि उम्कन नपाउने प्रतिबद्धतासमेत व्यक्त गरे।
यो प्रकरणको अनुसन्धानमा सरकारले कुनै पनि कसर बाँकी नराख्ने भन्दै उनले थप उच्चस्तरीय छानबिन समिति र अन्य समितिहरुले अनुसन्धान गरिरहेको जानकारी गराए।
छानबिन समितिमा रहेका सदस्य असुरक्षित भएको भनी सोधिएको प्रश्नमा उनले गृह मन्त्रालयले सुरक्षा दिने बताएका थिए। समितिका एक सदस्य वीरेन्द्र केसीले केही दिनअघि राजीनामा दिएका थिए। गृह मन्त्रालयले सुरक्षा दिने बताएपछि उनले राजीनामा फिर्ता लिई छानबिन कार्यमा संलग्न रहेको मन्त्री थापाले बताए।
निर्मला हत्या प्रकरणमा सरकारको छानबिन जारी रहेको र गम्भीरतापूर्वक छानबिन भइरहेको उनले बताए। ‘सरकार छानबिनको अन्तिम चरणमा आइपुगेको छ,’ उनले भने, ‘दोषीहरुमाथि कठोरतापूर्वक कारबाही होस् भन्नेमा गृह मन्त्रालय गम्भीर छ।’
स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई कालो झन्डा देखाउने राममनोहर यादवको मृत्यु हिरासतमा नभई उपचारको क्रममा भएको मन्त्रीले जवाफ दिएका छन्। अस्पतालमा उपचारको क्रममा मृत्यु भएको र पोष्टमार्टम प्रतिवेदनमा पनि चोटका कारण मृत्यु नभएको भनिएको उनले सदनमा जानकारी गराए।
बाग्लुङका एक व्यक्तिको रहस्यमय रुपमा भएको मृत्युका बारेमा अध्ययन अनुसन्धान भइरहेको र यो हत्या नभएर आत्महत्या हो कि भन्ने निष्कर्षमा पुगेको उनले बताए।
रोल्पाका तरुण दलका नगर अध्यक्ष रोहित पुनको हत्याको विषय राजनीतिक नभई लेनदेनको विवादका कारण भएको उनले जवाफ दिए। देवबहादुर घर्ती र रोहित मगरबीच विवाद हुँदा गोली प्रहार भएको र उपचारको क्रममा उनको मृत्यु भएको उनले बताए। देबवहादुरलाई गोलीसहित पक्राउ गरिएको र हाल जिल्ला अदालत रोल्पामा मुद्दा दायर भएको उनले जानकारी गराए।
पत्रकार राजु बस्नेतको पक्राउबारे पनि सांसदले प्रश्न उठाएका थिए। जनप्रतिनिधि कि जग्गा दलाल भनी पम्फा भुसाल र राजकाजी मर्हजनमाथि गलत आरोप लगाउँदै विद्युतीय कारोबार ऐन उल्ल्घन गरेकोमा अनुसन्धानका लागि पक्राउ गरिएको उनले जवाफ दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।