राजविराज- भारतीय सरकारको जिम्मेवारीमा रहेको सप्तरीको दक्षिणी भूभाग र सदरमुकाम राजविराज जोडने कोसी पश्चिम नहरको सर्भिस रोड मर्मत सम्भार नहुँदा सप्तरीवासीले सास्ती खेप्नुपरेको छ। वर्षौंसम्म सडक मर्मत नहुँदा दर्जनौं गाउँका बासिन्दा समस्यामा परेका छन्।

कोसी ब्यारेजदेखि भारदह–हुनुनमानगर–राजविराज–पातो हुँदै भारतको लौकहीसम्म पुग्ने करीब ६५ किलोमिटर पूर्ण रुपमा बिग्रेको छ। विष्णुपुर गाउँपालिकाको बिसनपुर चोकदेखि पातोसम्मको क्षेत्रमा सडकको अवस्था जीर्ण छ। यस क्षेत्रमा वैकल्पिक सकड पनि नहुँदा स्थानीयले दुःख पाएको व्यवसायी दिनेश यादवले बताए ।

बिसनपुर, बेलहा, कनकट्टा, मझौ, वनैनियाँ, वल्लिटोल, नर्घो, कजराटोल झुट्की, औरही बिसनपुर, भुतही, पातो, बरहीलगायत गाउँका बासिन्दाले राजविराज आवतजावतका लागि यो सर्भिस रोड प्रयोग गर्नुपर्ने बाध्यता छ।

खाल्डा परेको र हिलाम्मे सडकका कारण आवत–जावतमा सकस भएको राजगढ गाउँपालिका ३ का व्यवसायी रामप्रसाद मण्डलले बताए। सडकको असहजताले व्यापार व्यवसाय प्रभावित भएको उनको भनाइ छ। ‘विष्णुपुरदेखि पातोसम्मको करिब १८ किलोमिटर सर्भिस रोड मर्मत भए समस्या नै सकिन्छ’, उनले भने।

नेपाल–भारतबीच २०११ बैसाखमा भएको कोसी सम्झौता अनुसार सर्भिस रोड मर्मतको जिम्मेवारी भारत सरकारको हो। तर, लामो समयदेखि भारतले मर्मतसंभार नगर्दा स्थानीयवासीलाई समस्या भएको राजगढ गाउँपालिकाको कृषि शाखाका संयोजक अरुणकुमार यादवले बताए।

'लामो समयदेखि सडक मर्मतको काम भएको छैन,’ उनले भने, ‘आवतजावतको असहजताले यस क्षेत्रमा कृषि उपजको निर्यात पनि प्रभावित भएको छ।’
सडक मर्मतमा स्थानीय तहको चासो
भारत सरकारले चासो नदेखाएपछि केही समयअघि यस क्षेत्रका स्थानीय तहका प्रमुखको भेलाले आ–आफनो क्षेत्रमा पर्ने सडक मर्मत गर्ने सहमति गरेको थियो।

सहमति अनुसार राजगढ गाउँपालिका क्षेत्रमा मर्मत कार्य सम्पन्न भएपनि विष्णुपुर गाउँपालिका अन्तर्गत सडकका खाल्डा पुर्ने कार्य सुरु हुन सकेको छैन।

विष्णुपुर गाउँपालिकाका अध्यक्ष लीलाम्बर यादवले भने एकसाता भित्रै सडकको खाल्टा पुर्ने काम सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गरे। वर्षायाममा गिट्टिको अभाव हुने भएकाले काममा ढिलाई भएको उनको तर्क छ। ‘वर्षायाममा काम गर्न गाह्रो हुन्छ,’ उनले भने, ‘तर, एक साताभित्रै सडकका खाल्डा सम्याउने प्रयास भईरहेको छ।’

वर्षायामपछि सकड मर्मत गरी स्तरीय बनाइने अध्यक्ष यादवले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।