काठमाडौं– बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तकी आमा दुर्गादेवीले प्रधानमन्त्री तथा राष्ट्रपतिसँग न्यायको याचना गरेकी छिन्।
बिहीबार राजधानीमा एउटा साक्षात्कार कार्यक्रममा बोल्दै दुर्गादेवीले भनिन्– 'यदि न्याय दिन सक्नुहुन्न भने हामी न्याय दिन सक्दैनौं, तपाईंहरुलाई मार्न चाहन्छौं भनिदिनुहोला। मेरी छोरी बलात्कारपछि बितेर यसरी देश तड्पिरहेको छ। मलाई पनि बरु गोली ठोक्नुस्। मलाई मार्छु भन्नुस्, म मर्न पनि चाहन्छु।'
उनले राखेको धारणाको सम्पादित अंशः
काठमाडौंबाट गएर बुद्धिजीवीहरुले सान्त्वना मात्रै दिए। तर हत्यारा पत्ता लागेर हाम्रोसामु खडा भएन। प्रधानमन्त्री पनि यहीँ हुनुहुन्छ, महिला राष्ट्रपति पनि यहीँ हुनुहुन्छ। न्याय दिलाउने काम पनि उहाँहरुको हातमा छ। जसरी पनि हामीलाई न्याय दिनुहोला भनेर प्रधानमन्त्रीको शरणमा हामी आएका छौं।
राष्ट्रपति पनि आमा हुन्, उहाँको पनि छोरीलाई यस्तो भएको भए के हुन्थ्यो? मेरो छोरी मात्रै होइन, आफ्नो पनि छोरी पनि सम्झिनु। मेरो ठाउँमा आफ्नो छोरी भएको भए के हुन्थ्यो भन्ने सोचेर जसरी पनि न्याय दिलाइदिनुस् भन्ने आशामा म यहाँ आएको छु।
न्याय माग्न आएका हौं, न्याय दिलाउनुस्। न्याय नपाएपछि घर फर्कने कसरी? दुई वटी छोरी पनि छोडेर आएका छौं। एक दिन पनि छोरी बिना बाँच्न गाह्रो हुन्थ्यो। तर छोरी छोडेर यहाँ तड्पिरहनुपरेको छ।
राज्यलाई न्याय दिलाउनुस् भन्न चाहन्छौं। हामीलाई भुलाएर नफर्काइदिनुस्। यदि न्याय दिन सक्नुहुन्न भने हामी न्याय दिन सक्दैनौं, तपाईंहरुलाई मार्न चाहन्छौं भनिदिनुहोला। मेरी छोरीको बलात्कारपछि बितेर यसरी देश तड्पिरहेको छ। मलाई पनि बरु गोली ठोक्नुस्। मलाई मार्छु भन्नुस्, म मर्न पनि चाहन्छु। जसरी पनि न्याय दिलाउनुहोस्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।