काठमाडौं– संसदीय सुनुवाइ समितिबाट प्रधानन्यायाधीशका लागि अस्वीकृत भएपछि सर्वोच्च अदालतको मुद्दाको सुनुवाइबाट पर रहेका दिपकराज जोशी ४१औं दिनमा पुनः फर्किएका छन्।
सत्तारुढ दलका सांसदहरुले महाअभियोग लगाउने धम्कीपुर्ण सूचना पठाए पनि त्यसलाई वेवास्ता गर्दै जोशी सर्वोच्च फर्केका हुन्।
जोशी ओमप्रकाश मिश्र संसदीय सुनुवाइबाट अनुमोदन भएर राष्ट्रपति कार्यालयबाट सपथ लिए लगत्तै उनको स्वागतका लागि सर्वोच्च नै पुगेका थिए।
आफूभन्दा जुनियर नेतृत्वमा पुगे पनि जोशी मंगलबार र बुधबार सर्वोच्च पुगेका थिए। दुई दिन जोशीका लागि कुनै पनि पेशी तोकिएको थिएन। तर बिहीबार उनको इजलाशमा तीन थान मुद्दाको पेशी तोकिएको छ। एकल इजलाशमा सार्वजनिक सरोकारका मुद्दाहरु जोशीलाई तोकिएको छ।
मंगलबार मात्र नेकपाका केही सांसदहरुले जोशीलाई राजीनामा दिन दबाब दिँदै महाअभियोगको तयारी अवस्थामा रहँन समेत भनेका थिए। तर जोशीले त्यसलाई पनि सहज रुपमा लिँदै सर्वोच्च फर्केका हुन्।
जोशीले संसदीय सुनुवाइबाट अस्वीकृत भए पनि न्यायाधीशका लागि अयोग्य नभएको दाबी गर्दै आएका थिए।
गत मंगलबार नेपाल लाइभसँग कुरा गर्दै जोशीले आफू सर्वोच्च फर्कने बताएका थिए।
साउन १८ गते जोशीलाई संसदिय सुनुवाइ समितिले अस्वीकृत गरेको थियो। त्यस लगत्तै उनी बिदामा बसेका थिए। मिश्रको नाम संवैधानिक परिषदले सिफारिस गरेपछि त्यसको टुङ्गो लागेपछि सर्वोच्च फर्कने उनले बताउँदै आएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।