काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघ महासंघका वरिष्ठ उपाध्यक्ष अन्जनकुमार श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङमाथि छानबिन गरी कारबाही हुनुपर्ने माग गरेका छन्। राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो माग गरेका हुन्।
कुलमानले पत्रकार सम्मेलन नै गरेर उद्योगीहरुमाथि लगाएको आरोप गलत भएको भन्दै उनले यस्तो माग गरेका हुन्। ‘मसँग प्रमाण छ, उद्योगीले डेडिकेटेड ट्रंक लाइन माग्नु भएको छ, त्यही अनुसार दिएको हो भन्ने प्रमाण पनि उहाँले दिन सक्नु भएको छैन,’ श्रेष्ठले भने, ‘उहाँ स्वयः मैले जे बोल्यो त्यो नै कानुन हुन्छ भन्नेमा लाग्नु भएको छ। यो कति न्याय संगत हो? यदि यो मुलुकमा न्याय छ र कानुन छ भने यसमा खोजिनुपर्छ, छानविन गरि कानूनी दायरामा ल्याउनुपर्छ भन्ने मलाई लाग्छ।’
अहिलेको मुलुकको अर्थतन्त्र संकुचित भएको बेला उद्योगी व्यवसायीहरुलाई टाउकोमा तरबार झुण्डाउने र तर्साउने धम्क्याउने काम भएको आरोप पनि उनले लगाए। उनले अब विद्युत् बन्द गर्ने र आफ्नो उत्पादन पनि रोकेर शून्यमा जाउ भन्ने किसिमको वातावरण भइरहेको भन्दै यो तत्कालै रोकिनुपर्ने बताए।
‘सबैभन्दा पहिला यो समाधान गर्नलाई सम्माननीय प्रधानमन्त्रीज्युसँग अस्ती हामीले भेटेका छौं। उहाँले एउटा उच्च स्तरीय आयोग बनाएर समाधान गर्छौं भन्नु भएको छ,’ उनले भने, ‘अस्ती विद्युत् प्राधिकरणको प्रबन्ध निर्देशकले जुन पत्रकार सम्मेलन गर्नुभयो, त्यहाँ उहाँ बढि भावनात्मक हुनुभएको जस्तो देखिन्छ। आफू भावनात्मक भएर हामी व्यवसायीलाई कसरी हुन्छ अपराधी र दोषी देखाउन सकिन्छ भन्नेमा उहाँ लाग्नु भएको देखिन्छ।’
कुलमानले जे बोल्नु भयो, त्यही नै कानुन हो जस्तो किसिममा कुरा गरेको भन्दै श्रेष्ठले यो व्यवसायीका लागि मान्य नहुने पनि बताए। ‘उदाहरणका लागि जुन डेडिकेटेड र ट्रंक्र लाइनको व्यवस्थामा ट्रंक लाइनमा २४ घण्टा र डेडिकेटेडमा २० घण्टा विद्युत् दिनुपर्छ भन्ने छ, त्यो उहाँहरुले नै बनाएको प्रावधान हो,’ उनले भने, ‘पहिला त आफैंले बनाएको नियम हो। पछि विद्युत् महसुल निर्धारण आयोगले त्यसलाई हुन्छ भनेर लिएर आयो। तर, त्यही नियमलाई अहिले उहाँहरुले आफू मान्दिन भन्नु भएको छ। १५ घण्टा विद्युत् लिएको छ भने त्यो पनि लागु हुन्छ भन्नु भएको छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।