काठमाडौं– उद्योगी पवन गोल्यानले आफूले प्राधिकरणलाई कानूनसम्मत एक रूपैयाँ पनि तिर्न बाँकी नरहेको दाबी गरेका छन्।
आइतबार डेडिकेटेड र ट्रंकलाइन लाइनका विषयमा जानकारी दिन व्यवसायीहरूले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उद्योगी गोल्यानले यस्तो बताएका हुन्।
उनले विद्युत् प्राधिकरणले कानुनी प्रमाण देखाए बिल भुक्तानी गर्ने बताए। सबैतिर रिलायन्स स्पिनिङ मिल्सले पनि १ अर्ब ९४ करोड तिर्न बाँकी रहेको भन्ने कुरा बाहिर आएको भन्दै मिल्सले विद्युत् महशुलको कुनै पनि रकम तिर्न बाँकी नरहेको स्पष्ट पारे।
उनले अन्य धागो उद्योग समस्यामा परेको कारण त्यसको सजाय स्वरूप आफूलाई अतिरिक्त शुल्क दिन भनिएको दाबी गरे। अब उद्योगी व्यवसायीहरु मजदुरसहित सडक आन्दोलनमा आएर रगत बगाउनुपर्ने हो? भन्दै प्रश्न गरे।
उनले प्राधिकरणले उद्योगको नाम नै तोकेर कति घण्टा लोडसेडिङ हुन्छ भनेर तालिका निकालेको भन्दै लाइन दिएको भए यो तालिका किन निकालिएको थियो? भन्दै प्रश्न गरे। उनले उद्योगहरुलाई विद्युत् दिने नियत कहिल्यै पनि नभएको बताए।
आफू कुनै पनि महिनाको विद्युत् महशुल बाँकी नराख्ने ग्राहक रहेको उनको दाबी छ। उनले कुलमान घिसिङले पत्रकार सम्मेलन गरेर सेन्टिमेण्टल कुरा गरेको आरोप लगाए। उद्योग खोलेर पाँच हजार नागरिकलाई रोजगार दिनु अपराध हो? भन्दै उनले प्रश्न गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।