काठमाडौं – संसद्को आजको बैठकमा सम्भावित कार्यसूचीमा राखिएको चिकित्सा शिक्षा विधेयक पेश हुन सकेन।
कार्यव्यवस्था परामर्श समितिमा राजनीतिक दलहरुबीच कुरा नमिलेपछि विधेयक पेश हुन नसकेको हो । चिकित्सा शिक्षा विधेयक हाल अनसनमा बसेका डा गोविन्द केसीको सहमतिमा मात्र सदनमा ल्याउनुपर्ने दलहरुबीच सहमति भएको छ।
संसदमा शिक्षामन्त्री गोपालमान श्रेष्ठले पहिले ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७३’ माथि छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची थियो।
चिकित्सा शिक्षा विधेयक जनता र विद्यार्थीमुखी नभई माफियामुखी आउन लागेको भन्दै डा गोविन्द केसी ६ दिनदेखि आमरण अनशनमा छन् । डा केसीले आफूले विगतमा दिएका सुझाव र माथेमा कार्यदलको प्रतिवेदन अनुसार विधेयक पारित हुनुपर्ने माग राखेका छन्।
यसअघि पनि असोज ९ गते विधेयक संसदको कार्यसूचीमा राखिएको थियो । सोही दिन डा केसीले अनसन सुरु गरेपछि संसद २० गतेसम्मलाई स्थगित भएको थियो । संसद् स्थगित भएको र दशैं परेकाले डा केसीले अनसन स्थगन गरेका थिए । तर, संसद् सुरु भएसँगै तोडमोड गरेर विधेयक पास गराउन लागेको भन्दै डा केसीले १९ गतेबाट १३औं अनसन सुरु गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।