काठमाडौं– चीनले बुद्धको जन्मस्थल लुम्बिनीको पूर्वाधार विकासमा लगानी गर्ने प्रतिवद्धता जनाएको छ।
सिचुवान प्रान्त लसान नगरपालिकाले लुम्बिनीको पूर्वाधार विकासमा आवश्यक लगानी गर्ने प्रतिवद्धता जनाएको हो।
संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारी नेतृत्वको नेपाली प्रतिनिधिमण्डलले चीनको सिचुवान प्रान्तमा आयोजित अन्तर्राष्ट्रिय पर्यटन मेलामा सहभागिता जनाएको थियो। सोही मेलामा भएको द्विपक्षीय छलफलमा लसान नगरपालिकाले नेपालको लुम्बिनीको पूर्वाधार विकासमा आवश्यक लगानी गर्ने प्रतिवद्धता जनाएको हो।
मेलाबारे जानकारी दिन मंगलबार काठमाडौंमा पत्रकार सम्मलेनमा बोल्दै लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेयकुमार त्रिपाठीले मेलाको क्रममा लुम्बिनीमा रहेको मायादेवी मन्दिर र अशोक स्तम्भको स्मारक लसान प्रान्तमा स्थापना गरेर लुम्बिनीको अझै बढी प्रचारप्रसार गर्ने सहमति पनि गरिएको जानकारी दिए।
भाद्र २१ गतेदेखि २४ गतेसम्म सम्पन्न सो अन्तर्राष्ट्रिय पर्यटन मेलामा नेपाली हस्तकलाका सामग्रीहरुको प्रर्दशनी पनि गरिएको थियो। चीनले नेपालको लुम्बिनीको विकासमा लगानी गर्ने चाहना व्यक्त गरेको मन्त्री अधिकारीले जानकारी दिए।
नेपालमा धार्मिक पर्यटन वृद्धि गर्न चीनबाट आवश्यक सहयोग उपलब्ध हुने मन्त्री अधिकारीको विश्वास छ।
५६ वटा राष्ट्रहरु सहभागी रहेको सो सम्मेलनमा नेपाललाई सह–आयोजकको सम्मान प्रदान गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।