काठमाडौं– प्रहरी महानिरीक्षक (आईजी) बसन्त बहादुर कुँवर इन्टरपोलको ९१औं महासभामा सहभागी हुन आइतबार बिहान अस्ट्रियातर्फ प्रस्थान गरेका छन्। इन्टरपोल महासचिवालयको आयोजनामा अस्ट्रियाको भियनामा मंसिर १२ देखि १५ गतेसम्म सञ्चालन हुने उक्त महासभामा सहभागी हुन प्रहरी महानिरीक्षक कुँवर त्यसतर्फ प्रस्थान गरेका हुन्।
आईजी कुँवरसँगै महासभामा सहभागी हुन इन्टरपोल शाखाका प्रमुख प्रहरी उपरीक्षक अनुपम शमशेर जबरा र प्रहरी वरिष्ठ नायव निरीक्षक पुरूषोत्तम नेपाली समेत त्यसतर्फ प्रस्थान गरेका छन्। इन्टरपोलको १००औँ वार्षिकोत्सव मनाउने क्रममा सगरमाथाको सफल आरोहण गरी नेपालको राष्ट्रिय झण्डा, इन्टरपोलको झण्डा र नेपाल प्रहरीको झण्डा फहराउन सफल प्रहरी वरिष्ठ नायव निरीक्षक पुरुषोत्तम नेपाली इन्टरपोलको विशेष आह्वानमा महासभामा सहभागी भएका हुन्।
उनीहरूलाई प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरे।
इन्टरपोलका सबै १९५ सदस्य राष्ट्रहरुका प्रतिनिधिहरू सहभागी हुने उक्त महासभामा इन्टरपोलका महत्त्वपूर्ण विषयहरूमा मतदानद्वारा निर्णय गरिने प्रावधान अनुसार नेपालले पनि उक्त मतदानहरूमा भाग लिनेछ। साथै, प्रहरी महानिरीक्षक कुँवर नेतृत्वको प्रतिनिधि मण्डल तथा इन्टरपोलका अध्यक्ष र महासचिवबीच शिष्टाचार भेटघाट तथा छलफल हुने कार्यक्रम समेत रहेको छ। यसैगरी इन्टरपोलको विश्वव्यापी पहुँच तथा क्षेत्रीय सहयोगका प्रतिनिधिहरू तथा भारत, चीन र यूएईका प्रतिनिधिहरूसँग समेत विविध विषयहरूमा छलफल तथा द्विपक्षीय बैठक हुने कार्यक्रम रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
प्रहरी महानिरीक्षक बहादुर कुँवरको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईले नेपाल प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्ने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।