काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामुदायिक वनभित्र होटल निर्माण गर्न अनुमति दिएको आरोपमा चितवन राष्ट्रिय निकुञ्ज, खैरहनी नगरपालिका र विभिन्न सामुदायिक वन समूहका पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
अख्तियारले चितवन राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत, चितवनको खैरहनी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत र इञ्जिनियर तथा विभिन्न सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारीसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो।
बजेटको दुरुपयोग गरी निकुञ्जभित्रको वन क्षेत्रमा कंक्रिट मचान निर्माण गरेको, पक्की होटल र भवन निर्माण गर्नुका साथै सामुदायिक वनको काठ अनुमति बिनै काटेको अभियोगपत्रमा उल्लेख छ।
अख्तियारले चितवन राष्ट्रिय निकुञ्ज कार्यालय, सौराहाका तत्कालीन सहायक संरक्षण अधिकृत अभिनय पाठक, खैरहनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम शर्मा, इञ्जिनियर राजेश कोइराला र सब इञ्जिनियर सुमन श्रेष्ठमाथि ३१ लाख ५९ हजार बिगो मागदाबी गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको हो।
कुमरोम मध्यवर्ती सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष हिराबहादुर गुरुङमाथि एक करोड १९ लाख रुपैयाँ बिगो मागदाबी छ। कुमरोम सामुदायिक वन उपभोक्ता समूहका कोषाध्यक्ष शम्भु जिसीमाथि ८९ लाख रुपैयाँ बिगो मागदाबी छ। त्यही समूहका अर्को कालकालका अध्यक्ष गणेशकुमार श्रेष्ठ र कोषाध्यक्ष उज्जल बर्तौलामाथि १३ लाख ३१ हजार रुपैयाँ बिगो मागदाबी गरेको छ।
त्यस्तै बुढीराप्ती उपभोक्ता समितिका अध्यक्ष नारायणदत्त तिमिल्सिना र कोषाध्यक्ष सोमराज कडरियाविरुद्ध ७८ हजार रुपैयाँ बिगो मागदाबी छ।
कंक्रिट मचान निर्माण उपभोक्ता समितिका कोषाध्यक्ष सीता दाहाल र सचिव कल्याण लटौलाविरुद्ध ३५ लाख ५० हजार रुपैयाँ बिगो मागदाबीसहित अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।