काठमाडौं– अर्थमन्त्री डा प्रकाशशरण महतले विगतमा राष्ट्र बैंकले लिएको लचिलो मौद्रिक नीतिले शेयर बजार अप्राकृतिक रुपले बढेको टिप्पणी गरेका छन्।
बिहीबार काठमाडौंमा भएको राष्ट्रिय कर दिवस समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री डा महतले यस्तो टिप्पणी गरेका हुन्। उनले कोभिडको समयमा कर्जा प्रवाह गर्न राष्ट्र बैंक मौद्रिक नीति सहज बनाउँदा नेपालको शेयर बजार र घरजग्गाको कारोबार अधिक वृद्धि भएको भन्दै त्यसको असर अहिले अर्थतन्त्रमा परेको दाबी गरे।
उनले नेपाल राष्ट्र बैंकले पहिले लिएको लचिलो मौद्रिक नीतिले अनावश्यक ठाउँमा धेरै ऋण प्रवाह भएको उल्लेख गरे। पछिल्लो समय मौद्रिक नीति सहज हुनुपर्ने समयमा भने मौद्रिकमा कडाई गर्दा पनि अर्थतन्त्रमा केही असहजता भएको उनको दाबी छ। उनले मौद्रिक नीति सहज हुँदा बैंकबाट प्रवाह भएको कर्जा घरजग्गा कारोबार अनावश्यक रुपले वृद्धि भएको उल्लेख गरे।
गत सालको भन्दा तेब्बर हुने आशले बैंकबाट ऋण लिएर जग्गा र टावरहरुमा पैसा लगाएकाले अहिले अर्थतन्त्रमा समस्या देखिएको उनको भनाइ छ। अर्थमन्त्री महतले अब निजी क्षेत्रले विगतको पाठ सिकेर प्रतिफल नआउने क्षेत्रलमा तत्कालका लागि लगानी नगर्न आग्रह गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।