काठमाडौं– काठमाडौंको शंखरापुर नगरपालिका–३ लप्सी फेदीमा प्रहरीमाथि आक्रमण गरेको आरोपमा पक्राउ परेका १४ जना शनिबार राति नै रिहा भएका छन्। शुक्रबार ४ जना र शनिबार १० जना गरी प्रहरीमाथि आक्रमण गर्ने १४ जना पक्राउ परेका थिए।
उनीहरु सबैलाई प्रहरी वृत्त बौछद्धमा राखिएको थियो। तर पक्राउ परेका सबै जनालाई शनिबार राति नै छाडिएको बौद्ध प्रहरीले जनाएको छ। बौद्धका डीएसपी राजु पाण्डेले सबैलाई सम्झाइ बुझाइ गरेर छाडिएको बताए।
लप्सी फेदीमा निमार्ण हुने विद्युतीय सब स्टेशनको विषयमा लामो समयदेखि विवाद हुँदै आएको छ। सोही क्रममा प्रहरी र स्थानीयबीच शुक्रबार र शनिबार झडप भएको थियो। बस्तीको बीचमा सब–स्टेशन निर्माण गर्न लागिएको भन्दै लप्सीफेदीबासी लामो समयदेखि आन्दालेनमा छन्।
सब–स्टेशन निर्माण हुने ठाउँ नजिकै प्रहरी पोस्ट राख्न लागिएपछि शुक्रबार र शनिबार झडप भएको थियो। झडपमा सशस्त्र प्रहरी बलका डीएसपी देवराज राईसहित ३ जना सुरक्षाकर्मी घाइते भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।