काठमाडौं– काठमाडौंको विभिन्न स्थानमा रहेको नदी तथा पोखरीहरुमा छठी माईको पूजाका लागि तयारीको काम अन्तिम चरणमा पुगेको छ।
छठ पर्वको मुख्य दिन छठी माईको पूजाका लागि काठमाडौंको कमल पोखरी, कुपण्डोल, गौरीघाट, नागपोखरी, गहनापोखरीलगायतका स्थानहरुमा यसको तयारीको काम अन्तिम चरणमा पुगेको हो।

काठमाडौंको विभिन्न १३ स्थानमा छठ पर्वको तयारी भइरहेको छ। कमल पोखरी छठ कमिटीका अध्यक्ष राजेन्द्र सिंहले अहिले टेण्ट हाल्ने काम सुरु भएको र शनिवारसम्म सबै काम सकिने बताए।

हरेक वर्ष निःशुल्क घाट व्यवस्थापन गर्ने गरेको र यस पटक पनि निःशुल्क नै व्यवस्थापन हुने उनले बताए। उनले भने, ‘टेण्ट हाल्न सुरु भएको छ, शनिबारसम्म काम सकिन्छ। हरेक वर्ष निःशुल्क घाट व्यवस्थापन गरेका छौं। यस पटक चन्दा बाक्सा पनि राख्दैनौं। छठी माईको मूर्ति पोखरीमा नराख्ने भएका छौं। सेलाउने मूर्ति बाहिर नै राख्नेछौँ । आरती र भजन कीर्तन गर्नेछौं।’

त्यस्तै गौरीघाट छठ समिति संयोजक किरणकुमार दासले छठको घाट ५०८ देखि ५१० वटा बनाउने तयारी भएको बताए। उनले अहिलेसम्म घाटको काम ८० प्रतिशत सकिसकेको र बाँकी काम शनिवारसम्म सकिने बताए।

उनले भने, ‘छठको घाट ५०८ देखि ५१० वटा बनाउने निर्णय गरेका छौं। अहिलेसम्म घाटको काम ८० प्रतिशत सकिसकेको छ। २० प्रतिशत काम शनिवारसम्म सकिन्छ। कपडा टाँग्ने र प्लाइबोर्ड लगाउने काम बाँकी छ। आर्थिक मन्दीले अलि कमी हुने आँकलन गरेका छौं। तर रसिद काट्नेहरु हेर्दा भरिन्छ जस्तो छ।’

आर्थिक मन्दीका कारण यस वर्ष छठमा आउनेहरुको संख्या कमी हुने आकलन गरेको बताए।




नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।