काठमाडौं– स्पेनिल ला–लिगामा बार्सिलोनाले जित निकालेको छ। खेल सुरु भएको १७ सेकेन्डमै गोल खाएर पछि परेको बार्सिलोनाले उत्कृष्ट कमब्याक गर्दै जित निकालेको हो।
आइतबार राति भएको खेलमा लोपेजको जासमा ओमोरोडिनाले १७ सेकेन्डमै गोल गर्दै घरेलु टिम बार्सिलोनामाथि दबाब बढाएका थिए।
सुरुवातमै दबाबमा परेको बार्सिलोना पहिलो हाफसम्म १–० ले पछि परेको थियो। तर दोस्रो हाफमा उत्कृष्ट कमब्याक गर्दै बार्सिलोनाले जित निकाल्यो।
५३औं मिनेटमा कुन्डेको पासमा लेवान्डोस्कीले हेडमार्फत् गोल गर्दै बार्सिलोनालाई बराबरीमा ल्याएका थिए। ७८औं मिनेटमा फेरान टोरेसलाई डिबक्सभित्र लडाएपछि बार्सिलोनाले पेनाल्टी पाएको थियो।
पेनाल्टीमार्फत् लेवान्डोस्कीले गोल गरेपछि बार्सिलोनाले २–१ को नतिजा निकाल्यो। जितसँगै १३ खेलबाट ३० अंकसहित बार्सिलोना लिगको तेस्रो स्थानमा छ। पहिलो स्थानमा रहेको गिरोनाको १३ खेलबाट ३४ अंक छ। समान खेलसहित ३२ अंकका साथ रियल मड्रिड दोस्रो स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।