काठमाडौं– ८ गोलको वर्षा भएको खेलमा चेल्सी र म्यानचेस्टर सिटी बराबरीमा रोकिएका छन्। इंग्लिस प्रिमियर लिगअन्तर्गत आइतबार राति भएको खेलमा चेल्सी र सिटीले बराबरी खेल्दै अंक बाँडेका हुन्।
खेलको सुरुवाती २५औं मिनेटमा पेनाल्टीमार्फत् गोल गर्दै पाहुना टोली सिटीले अग्रता बनाएको थियो। डिबक्स भित्र सिटीका स्टाइकर हालाण्डलाई लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए। हालाण्डले पेनाल्टीमार्फत् २५ मिनेटमा गोल गर्दै सिटीलाई अग्रता दिलाए।
त्यसको ४ मिनेटपछि नै गोल गर्दै चेल्सीले खेल बराबरीमा ल्याएको थियो। कर्नर किकको बललाई हेडमार्फत् चेल्सीका डिफेन्डर थियागो सिल्भाले जाली चुमाएका थिए। ३७ औं मिनेटमा जेम्सको पासमा स्ट्रिलिङले गोल गरेपछि चेल्सीले २–१ को अग्रता बनायो।
बर्नाडो सिल्भाको पासमा अकान्जीले हेडमार्फत् पहिलो हाफको अतिरिक्त समयमा गोल गरेपछि खेल २–२ को बराबरीमा आयो। पहिलो हाफमा २–२ को बराबरी भएको खेल दोस्रो हाफमा पनि दुबै टिमले २–२ गोल गरेका थिए।
४७औं मिनेटमा पेनाल्टीमार्फत् नै पुन हालाण्डले गोल गरेपछि सिटीले ३–१ को अग्रता बनायो। चेल्सीका ज्याक्सनले ६७औं मिनेटमा गोल गरेपछि खेल पुनः ३–३ को स्थितिमा आयो।
हालाण्डको पासमा रोड्रीले ८६औं मिनेटमा गोल गर्दै सिटीलाई ४–३ को स्थितीमा ल्याए। तर ९० मिनेटपछिको अतिरिक्त समयमा पेनाल्टीमार्फत् चेल्सीका पाल्मरले गोल गरेपछि खेल ४–४ को बराबरीमा सकियो।
बराबरीसँगै १२ खेलबाट २८ अंकका साथ सिटी लिगको शीर्ष स्थानमा छ। समान खेल खेलेको चेल्सी १६ अंकका साथ १०औं स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।